फागुन १६\काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई हटाउन नसक्ने दाबी गरेका छन् ।
आइतवार काठमाण्डुमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्विप मान्न नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उनको भनाइ छ । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि नेता रावलले बताए ।
उनले भने, ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्दै । उहाँलाई हटाउँछौँ अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छाैँ हामी, यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा त्यसका लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्विप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्ने कुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरू उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति नागरिकलाई ढाट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुई तिहाइ सदस्य हामीसँग छन् अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’
पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले बताए ।
उनले एमससीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पोखे । त्यस्तै, नेकपा, कांग्रेस र जसपा मिलेर भारतलाई पनि अनुकुल हुने सरकार बनाउने कुरा प्रचण्डले गर्नुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा रावलले भने,‘सबै दलहरु मिलेर गयौं भने लोकतान्त्रिक प्रणाली पनि अगाढि बढ्छ । भारत र चीनसँग सम्बन्ध राम्रो हुन्छ भन्नुभएको हो ।’
आफूहरुले गरेको आन्दोलनको क्रममा ट्याक्सी जलाएको प्रसंगमा उनले त्यसमा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको कुनै संलग्नता नरहेको पनि जिकिर गरे । उनले भने,‘त्यसमा पनि साईबर अपराधी संलग्न होलान् जस्तो लाग्छ । म टोखामा बस्ने व्यक्ति हुँ । जलाउने र ध्वंस गर्ने नीति हाम्रो होईन । यदि सरकारले ती व्यक्तिलाई कारबाही गरेन भने, त्यसमा संलग्न भनेको साईबर स्याल वा साईबर अपराधी हुन् ।’
रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए । उनले भने,‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दापनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो । यो त उहाँले लल्कार्ने काम हो ।’
सांसदहरु खरिदबिक्रि सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने,‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो । लोकतन्त्रको अपमान हो । हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन् । तर, ओलीको दिमाग नै त्यस्तो छ ।’ आफ्नो समूहका नेता रघुजी पन्तले कोमल वलीको बारेमा गरेको टिप्पणीबारे सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । उनले भने,‘खै, के भन्नुभयो ? त्यो उहाँलाई नै सोध्नुहोस् । अलिक राम्रो होला कि ।’
रावलले पार्टीका सबै कमिटीमा आफूहरुको बहुमत रहेको जिकिर गरे । उनले भने,‘केन्द्रीय कमिटीमा झण्डै दुई तिहाई छ, स्थायी कमिटीमा दुई तिहाई छ । संसदीय दलमा हामी बहुमतमा छौं । निर्वाचन आयोगले बैद्यताको कुरा घामजत्तिकै छर्लङै छ । किन ढिलाई गरेको हो ?’
ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो समूह बहुमतमा भएको (एक सयभन्दा बढि सांसद) छन् भनेर गरेको दाबीमा कुनै सत्यता नभएको रावलको भनाई छ । उनले भने,‘ह्विप लगाएर कारबाही गर्छु भने । तर, उल्टै उहाँहरुमाथि कसरी कारबाही हुन्छ, मैले विधानमा भनिसकें ।’ उनले ओली पक्षसँग संसदीय दलमा बहुमत भए त्यो देखाउन चूनौति पनि दिए । उनले भने,‘ल लाईन लगाएर देखाउनुहोस् । को–को रैछन् ? हामीसँग स्पष्ट बहुमत भएको कारणले प्रतिनिधिसभा विघटन गर्नुभयो । अविश्वासको प्रस्ताव ल्याएर हटाउन लागेको भनेर प्रतिनिधिसभा विघटन गरेको कुरा उहाँले गर्नुभएको होईन र ?’
रावलले आफ्नो पक्षसँग स्पष्ट बहुमत रहेको दाबी गरे । उनले भने,‘नेकपामा सांसदहरु १६९ हो, त्यसमा बहुमत हुनलाई जति चाहिन्छ, त्यति हामीसँग छ ।’ उनले दलको आधिकारिकता दिन निर्वाचन आयोगले ढिलाई गरेकोमा गुनासो पोखे । उनले भने,‘आयोगले ढिलाई नगरे हुन्छ । कानूनको आधारमा निर्णय गर्नुपर्छ । आयोगले विलम्ब गर्नु भनेको दुःखद् कुरा हो । बहुमत हुनेले निर्णय गर्ने कुरा नै आधिकारिकता हो ।’
रावलले संवैधानिक नियुक्तीबो सवालमा अहिले अदालतमा मुद्दा विचाराधिन रहेको सुनाए । उनले भने,‘योसम्बन्धी मुद्दा विचाराधिन छ । संसदीय सुनुवाई नै नगरी नियुक्ती गर्नु संविधान मिच्ने अर्को काम भयो ।’ रावलले वामदेव गौतमको एकता अभियानबारे टिप्प्णी गर्दै आफूहरु त देश एकता र पार्टी एकताकै पक्षमा रहेको धारणा राखे । आफूहरुले यसअघि एकताकै लागि पहल गरेको उनले स्मरण गराए । उनले भने,‘एकता हुँदा त राम्रो हो । एकता जोगाउन सम्पूर्ण प्रयास गरेकै हो हामीले ।’




प्रतिक्रिया