ओली एमाले फुटाएर जाँदै हुनुहुन्छः भीम रावल

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार राजधानीमा भएकाे एक साक्षात्कारमा बाेल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताए ।

‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए ।

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । नेता रावलले भने,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने उनले जिकिर गरे । उनले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ओलीलाई चुनौती दिदै रावलले भने,‘सांसद पदबाट मुक्तहुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस् ।’

उनले विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । नेता रावलले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’

उनले आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए । उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’

उनले ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए । नेता रावलले कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनीभ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए ।

उनले ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए । नेता रावलले अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए । उनले भने,‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’

नेता रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए । उनले ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए ।