काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली अराजक र अनुशासनहीन भएको आरोप लगाएका छन् । आइतबार साँझ ट्वीटमार्फत नेता रावलले पार्टीभित्र गुटबन्दी सिर्जना गरेर आफ्ना मान्छेलाई मात्र भर्ती गरेर प्रधानमन्त्री ओलीले अराजक काम गरेको भन्दै आधा दर्जन आरोप लगाएका छन् ।
प्रधानमन्त्री अोलीले आईतबार बालुवाटारमा भएको एक कार्यक्रममा माधव नेपाल समूह अनुशासनहीन र अराजक भएको बताएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो सरकारविरुद्ध अविश्वासको पक्षमा लाग्ने, फ्लोर क्रस गरेको भन्दै दलीय अनुशासन र संसदीय प्रणालीविरुद्धमा गएको बताएका थिए ।
सोही विषयमा नेता रावलले भनेका छन्, ‘प्रम केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नुभएछ । हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’
त्यस्तै नेता रावलले प्रधानमन्त्री अोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर संविधान मिच्दै पटकपटक संसद विघटन गर्ने संवैधानिक अंगहरुलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने , राष्ट्रहित विपरित काम गर्ने र दुई तिहाईलाई अल्पमतमा झार्ने काम गरेको आरोप लगाएका छन् ।
‘राष्ट्रपतिसँग मिलेमतो गरी संविधान मिच्दै पटक–पटक प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक परिषद्मा मनपरी गरी संवैधानिक अंगहरुलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने , राष्ट्रहित विपरित काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रधानमन्त्री केपीले नै अनिष्टको काम गरेको ठहर्छ’, उनले भनेका छन् ।




प्रतिक्रिया