काठमाण्डु – एमाले उपाध्यक्ष भीम रावलले एमाले ढाल्ने षडयन्त्रका विरुद्ध आफु उभिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरुद्धको पांचदलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ आरोप लगाएपछि उनले यसको कडा प्रतिवाद गरेका हुन ।
दाहालले शनिबार एक सार्वजनिक कार्यक्रममा पांचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको भन्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको आरोप लगाएका थिए।
रावलले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर आफु ‘ढलेको’ नभई नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा आफु उभिएको बताएका छन् ।
उनले एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो भन्दै प्रश्न समेत गरेका छन् ।
यस्तो छ रावलको प्रष्टिकरण –
मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पांच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहांको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ।
–गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसंगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।
–प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?
–हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु–यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?
–मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।




प्रतिक्रिया