एमसीसीमा गोप्य सम्झौता भएका छन्, सबै दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छः भीम रावल

एमसीसीमा गोप्य सम्झौता भएका छन्, सबै दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का सबै दस्तावेज संसदमा पेश गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले एमसीसीका सबै कागजात सार्वजनिक नगरिएको भन्दै एमसीसी पास गर्ने भए सबै दस्तावेज संसदमा सार्वजनिक गर्न माग गरेका हुन् ।

‘एमसीसीका सबै कागजात सार्वजनिक गरिएको छैन । यदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘जुनजुन बेला राजनीति परिवर्तन हुन्छ । सरकार परिवर्तन हुन्छ । नेपाली जनताको स्वाभिमान ओझेलमा पर्नेगरी सन्धी सम्झौता हुन्छन् । एमसीसी सम्झौता त्यस्तै हो । म यहाँबाट सदन र देशभक्त नेपालीलाई भन्न चाहन्छु । त्यो सम्झौता जुन सदनमा पेश भएको छ । अरु गोप्य सम्झौता पनि भएका छन् ।’

सांसद रावलले नेपालले कुनै पनि शक्तिको राजनीतिक र सैन्य गतिविधिमा सहभागी हुन नसक्ने असंलग्न नीति लिएकाले इन्डो प्यासिसिफिक सैन्य रणनीतिसँग जोडिएको एमसिसीलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

‘एमसीसीका कतिपय प्रावधान, नेपालको कानुन र संविधानसँग बाझिन्छन् । नेपाली जनताका सार्वभौम अधिकारमाथि कुठाराघात गर्ने कुरा स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘एमसीसीको प्रावधान सबै पढेको छु । एमसीसी सम्झौता कार्यान्वयन नभई कार्यालय कसरी खुल्छ ? नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ? यो संसदले त्यसको बारेमा निर्णय गर्नुपर्छ ।’

सांसद रावलले नेपाल कुनै सैन्य गठबन्धनमा बस्न नहुने भन्दै अमेरिकी मन्त्रीहरूले पटक–पटक यो सैन्य रणनीति हो भनेको बताए ।

‘अमेरिकी मन्त्री आधिकारिक हुन् कि नेपाली ? त्यसमा भएका कतिपय व्यवस्था संविधान र कानुनसँग बाँझिएका छन्,’ उनले भने ।