काठमाण्डु – नेकपा एमालेलाई एकताबद्ध बनाउन उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् । पार्टी विभाजनको अवस्थामा पुगेका बेला माधव नेपाल पक्षका नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।
उनले शनिबार साँझ राष्ट्रपति र अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको स्रोतले जानकारी दियो । पार्टीलाई एकताबद्ध बनाउन नेता रावलले राष्ट्रपतिसँग परामर्श लिएका छन् ।
साथै उनले अध्यक्ष ओलीलाई भेटेर आजका लागि बोलाइएको स्थायी र केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए । रावलको आग्रह बमोजिम ओलीले केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारेका छन् ।
सर्वोच्च अदालतले गत साउन २३ गते नेकपा एमाले ब्यूँताएपनि नेपाल पक्ष पार्टीका कुनै पनि बैठकमा सहभागी भएको छैन् । विभिन्न माग राख्दै पार्टीभित्र संघर्ष गरिरहेकाे नेपाल पक्षले विभिन्न समानान्तर कमिटीहरु गठन गरेको छ । त्यस्तै नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावमा असन्तुष्टी जनाउँदै आइरहेका छन् ।




प्रतिक्रिया