भीम रावलको जिल्ला अछाममा एमालेलाई कति सहज ? यस्तो छ अंकगणित

भीम रावलको जिल्ला अछाममा एमालेलाई कति सहज ? यस्तो छ अंकगणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचकसमेत रहेका नेता भीम रावलको गृहजिल्ला हो– सुदूरपश्चिमको अछाम । अछाममा १० पालिका छन् । ०७४ को निर्वाचनमा यी पालिकामा मुख्यतः कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

१० पालिकामध्ये कांग्रेसले पाँच पालिका जितेको थियो भने एमालेले तीन र माओवादीले दुई पालिका जितेको थियो । कांग्रेसले कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल–विनायक नगरपालिका, बान्नीगढी–जयगढ गाउँपालिका जितेको थियो ।

एमालेले चौरपाटी गाउँपालिका एक भोटले जितेको थियो भने मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिका प्रमुख पनि जितेको थियो । माओवादी केन्द्रले मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिका जितेको थियो । ०७४ को निर्वाचन परिणाम हेर्दा माओवादी तेस्रो शक्ति हो । गत निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र स्वतन्त्र उम्मेदारहरू मैदानमा थिए ।

तर, अहिले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको प्रभाव पनि यो जिल्लामा छ । हाल एकीकृत समाजवादीका नेता एवं संघीय सांसद शेरबहादुर कुँवर पनि अछामबाटै प्रतिनिधित्व गर्छन् । त्यसकारण आसन्न चुनावमा एमालेलाई आफ्नो बिरासत जोगाउन मुस्किल पर्ने देखिन्छ । किनभने ०७४ को मतपरिणाम हेर्दा एमालेले जितेका पालिकामा कांग्रेस एक्लैले कडा टक्कर दिएको थियो । त्यसमाथि आसन्न स्थानीय चुनावमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच जिल्लामा तालमेल गरेर जाने सहमति भएपछि एमालेलाई बिरासत जोगाउन चुनौती भएको हो ।

हाल पार्टीमा जिम्मेवारीविहीन बनेका रावलको प्रभाव यसअघि जिल्लामा राम्रो रहेको बताउने गरिन्थ्यो । तर, अहिले आफ्नै कार्यकर्ता जोगाउन नसकेर रावल जिल्लामा कमजोर बनेको एमालेकै नेताहरूले आरोप लगाउने गरेका छन् । एमालेबाट जितेका केही पालिका प्रमुख÷उपप्रमुख एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । त्यसकारण एकीकृत समाजवादीले मत काट्ने चिन्ता एमालेको छ । तर, उसले माओवादी केन्द्रबाट नेता–कार्यकर्ता प्रवेश गराएका कारण पुरानो हैसियत कायमै राख्ने दाबी गर्दै आएको छ ।

अहिले जिल्लामा स्थानीय चुनावका लागि एकीकृत समाजवादीसहित ६ राष्ट्रिय र १० राष्ट्रिय मान्यता प्राप्त नगरेका गरी १६ दल दर्ता छन् । ०७९ को स्थानीय निर्वाचनका लागि जिल्लामा ७५ हजार आठ सय ३७ पुरुष, ८० हजार चार सय ८१ महिला, अन्य दुई गरी जम्मा एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।

हेर्नुहोस्– अछामका १० वटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।