काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः पार्टी विवाद समाधानका लागि सहमत भएका छन् । आफु निकटका दोस्रो तहका नेताहरुको निकै लामो प्रयासपछि पार्टी विवाद सुल्झाएर अगाडी बढ्न अध्यक्ष ओली सहमत भएका हुन् ।
विभाजनको डिलमा पुगेको एमालेलाई एकढिक्का बनाउन ओलीले अग्रसरता देखाएका छन् । पार्टी विभाजित हुँदा पार्टीले ठुलो नोक्सानी बेहोर्नुपरेको उल्लेख गर्दै ओलीले पार्टीलाई एकढिक्का बनाउनका लागि आफु निकटका नेताहरुलाई खटाउन थालेका छन् ।
आफुसंग अलगिएका वरिष्ठ नेता माधव कुमार नेपाललाई सहमतिमा ल्याउने जिम्मेवारी उपाध्यक्ष भीम रावललाई दिएका छन् । नेताहरुको अडानले पार्टीलाई असर गरेको भन्दै सांसद पदबाट राजीनामा दिएका रावलले आजै राजीनामा फिर्ता लिएका छन् ।
उनले दुवै नेताहरुलाई मिलाएर अघि बढ्ने बताएका छन् । सरकारबाट बाहिरिएपछि अध्यक्ष ओली निकै कमजोर बनेकाले पार्टी एकताका लागि चासो देखाएको टिप्पणी हुन थालेको छ । उनले उपाध्यक्ष रावलसंगको भेटमा असन्तुष्ट पक्षलाई कसरी मिलाउने भन्ने बिषयमा छलफल गरेका थिए ।
‘पार्टीलाई एकताबद्ध बनाउन नेपालजीसँग गहन छलफल गर्नुस्’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
पार्टीभित्रको किचलोले ‘दिक्क’ भएका नेता रावलले साउन ३ गते प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । केहीदिन अगाडि नेता रावल भेट्न टोखा पुगेका नेता नेपालले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
त्यस्तै आफूबाट टाढिएका रावललाई फकाउँदै नेपालले नयाँ दल खोल्ने र सहयोग गर्न आग्रहसमेत गरेका थिए । तर, रावलले एमालेलाई नै एकताबद्ध बनाउनुपर्ने भन्दै नयाँ दल नखोल्न सुझाव दिएका थिए । नयाँ पार्टीलाई आफ्नो समर्थन नहुने जवाफ दिएका नेता रावलले दुःख गरेर बनाएको पार्टीको संरक्षण गर्न नेपाललाई आग्रह गरेका थिए ।
रावलको राजीनामापछि केही मत्थर भएका नेपालले सर्तसहितको एकताको चाहना व्यक्त गर्दै आएका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा नेता नेपालले आफूले बनाएको घर छोड्न कसैले नचाहने तर, अपमान सहेर नबस्ने बताएका थिए ।
उनले सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्ने र पार्टी भित्र घाउ खटिरा भए तिनलाई औषधिले निको बनाउनुपर्ने बताएका थिए ।
त्यस्तै बिहीबारकै कार्यक्रममा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुमाथिलाई माफी दिने घोषणा गरेका थिए । अध्यक्ष ओलीले ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ’ भन्दै बाटो बिराएका, भड्किएका नेताहरुलाई मिलेर काम गर्न आह्वान गरेका थिए ।
फ्लोर क्रस गरेर आफ्नै सरकार ढालेपछि अध्यक्ष ओलीले नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताएपनि पछिल्लो समय ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार देखिएका छन् ।
बुधबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार रहेको उल्लेख गरेका थिए ।
‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भए सबै संरचना २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ ओलीले भनेका थिए, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु, मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाएका छैनन्, अनेक बहाना खोजेका छन् ।’
गत साउन ३ गते फ्लोर क्रस गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मत दिनेमा ओलीका विश्वास पात्र मानिएका प्रेम आले लगायतका सांसद समेत रहेका छन् ।
दोस्रो तहका नेता सक्रिय
अध्यक्ष ओली र नेता नेपालको ‘इगो’का कारण सरकारबाटसमेत हात धुनुपरेपछि एमालेमा दोस्रो तहका नेताहरुले सक्रिय भएका छन् ।बहुमतसहित सरकारको नेतृत्वमा रहेको एमाले आफ्नै विवादका कारण बर्हिगनमा पुगेपछि जनमतको अपमान गरेको आरोप लाग्न थालेको छ । दुई शीर्ष नेता सहमतिमा आउन नसक्दा पार्टी विभाजन हुने अवस्था आएको भन्दै दोस्रो तहका नेताहरुले सक्रियता बढाएका हुन् ।
दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले सहमतिका लागि ओली र नेपाललाई भेट गराउने प्रयास गरिरहेका छन् ।
नेता सुवास नेम्वाङले दुवै नेताहरुलाई भेट हुने वातावरण मिलाउने प्रयास भइरहेको बताए । उनले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको चुनौती भएकाले चाँडै सहमतिको बिन्दुमा पुग्ने दाबी गरे ।




प्रतिक्रिया