विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै संसदमा भीम रावल ‘फायर’

विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै संसदमा भीम रावल ‘फायर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदूत र्‍यान्डी बेरीका कूटनीतिक मर्यादा विपरीतका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता रावलले अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको बताए ।

बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपनि व्यवहारमा सरकारले सोही अनुसार काम गरेर देखाउन नसकेको भन्दै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदूत बेरीले सो कार्यक्रम संचालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनी सरकारलाई प्रश्न पनि गरे ।

नेता रावलले सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए ।

उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय उल्लेख भए पनि सरकारले व्यवहारमा कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरे ।

‘बजेटमा यो कुरा आइरहँदा एउटा धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता किन पाउँछ, विगतमा नेपालको संस्कृतिमाथि प्रहार गरेको आरोपमा जो सँगको सम्झौता रद्द भएको थियो । बजेटमा यस्तो कार्यक्रम आइरहँदा बाहिर त्यस्तो सम्झौता किन हुन्छ ?’ भन्दै उनले प्रश्न गरे ।

केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । त्यसप्रति नेता रावलको आपत्ति छ । सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।