काठमाण्डु नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ गरेर प्रेसलाई घुँडा टेकाउन सकिन्छ भन्ने नठान्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार प्रेस वक्तव्य जारी गर्दै आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताए ।
आङ्देम्बेले पत्रकार पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताए ।
‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ, न त प्रेसलाई कुनै निरंकुशताका सामु घुँडा टेकाउन नै,’ उनले भनेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई त्रसित बनाउने गतिविधिले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको उनको भनाइ छ ।
अदालतमा बिचौलियामार्फत सेटिङ भएको भनिएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनले बताएका छन् ।
पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको आङ्देम्बेको टिप्पणी छ ।
पत्रकार पक्राउको घटनामा प्रधानमन्त्रीको सचिवालयले आफूलाई जानकारी नभएको, गृह प्रशासन अनभिज्ञ रहेको र प्रहरी प्रवक्ताले समेत घटनाबारे बुझ्दै गरेको बताएको प्रसंग उल्लेख गर्दै उनले सरकारी निकायका भनाइ र घटनामा पक्राउ परेका पत्रकारले पाएको जानकारीबीच विरोधाभास रहेको बताएका छन् ।
पक्राउ परेका पत्रकारले प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको पनि उनले वक्तव्यमा उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन्, ‘कानुनी राज्यको पालना र सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य हो ।’
उनले राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
दशकौँको संघर्षबाट प्राप्त वाक तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चता कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने आङ्देम्बेको भनाइ छ ।


प्रतिक्रिया