काठमाण्डु – भोजपुर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गृहजिल्ला हो । त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मघर पनि भोजपुर नै हो । जन्मघर भएकाले जिल्लाको चुनावमा राष्ट्रपतिको समेत चासो रहने गरेको छ । भोजपुरमा चुनावी माहोल तातिन थालेको छ । जिल्लामा दुईवटा नगरपालिकासहित नौवटा स्थानीय तह छन् ।
०७४ सालको चुनावमा यो जिल्लामा मिश्रित परिणाम आएको थियो । दुवै नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका थिए । नौमध्ये चार–चारवटाको प्रमुखमा कांग्रेस र एमाले तथा एउटाको प्रमुखमा एकीकृत माओवादी विजयी भएका थिए । कांग्रेस अरुण गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष, भोजपुर र षडानन्द नगरपालिकाको मेयर तथा साल्पासिलिचो गाउँपालिकाको अध्यक्षमा जित निकाल्न सफल भयो ।
एमालेले हतुवागढी र टेम्केमैयुम गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष, पौवादुङमा र रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष तथा भोजपुर र षडानन्द नगरपालिकाको उपमेयरका साथै साल्पासिलिचो गाउँपालिकाको उपाध्यक्षमा जित निकाल्यो । माओवादी केन्द्रले आमचोक गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा पौवादुङमा र रामप्रसाद राई गाउँपालिकाको उपाध्यक्षमा बाजी मा¥यो । गत चुनावमा भोजपुरका अधिकांश स्थानीय तहमा कम मतान्तरले हारजित भएको थियो ।
यसपटक सत्तासाझेदार दलले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका छन् । उता एमाले एक्लै मैदानमा होमिएको छ । गठबन्धनका क्रममा पाँचवटाको प्रमुख कांग्रेस र दुईवटाको प्रमुख माओवादीलाई दिइएको छ । दुईवटा पालिकामा भने प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यसअघि कांग्रेसले एक्लै जितेको अरुण र माओवादीले एक्लै जितेको आम्चोकमा प्रतिस्पर्धा गर्ने गरी सहमति सार्वजनिक गरिएको छ । कांग्रेसले दुवै नगरपालिकाको मेयरसहित टेम्केमैयुम, साल्पासिलिचो र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ । माओवादीले रामप्रसाद राई र पौवादुङमा गाउँपालिकाको अध्यक्ष पाएको छ ।
अघिल्लो चुनावमा रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी आठ मतले मात्रै पराजित भएको थियो भने पौवादुङमा पनि मतान्तर निकै कम थियो । भोजपुर नगरपालिका र टेम्केमैयुम गाउँपालिकाको उप्रप्रमुख एकीकृत समाजवादीलाई दिएर मिलाइएको छ ।
गठबन्धन बनेसँगै एमाले असजिलोमा परेको छ । जिल्लामा पार्टी विभाजनको असर पनि राम्रै परेको छ।भोजपुर नगरपालिकाकी उपमेयर, टेम्केमैयुमकी उपाध्यक्षलगायत जनप्रतिनिधि पनि एकीकृत समाजवादीमा लागेका छन् । यसले आगामी चुनावमा गठबन्धन केही बलियो हुने संकेत देखिएको छ । एमालेले विगतमा साँघुरो मतान्तरले जितेका दुई पालिका आगामी चुनावमा गुमाउने सम्भावना छ ।
हतुवागढीमा भने अहिले पनि एमाले नै बलियो देखिन्छ । गठबन्धनले अधिकतम आठ र न्यूनतम ६ स्थानीय तह जित्ने सम्भावना छ । एमालेले विगतको नतिजा कायम राख्न यसपटक निकै ठूलो चुनौती छ । उसले कमजोर अवस्थामा पनि एउटा पालिका भने जित्न सक्नेछ । जिल्लामा स्थानीय चुनावका लागि १ लाख २५ हजार ९ सय २६ मतदाता छन् । तीमध्ये ६५ हजार २ सय ११ पुरुष र ६० हजार ७ सय ४ महिला छन् ।













प्रतिक्रिया