रसुवा – आइतबार परेको अविरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले रसुवाको बेलिब्रिज बगाएको छ । बाढीले टिमुरे भन्सार कार्यालय–सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।
पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ भने स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएको छ ।
अविरल वर्षापछि भोटकोसीमा गएराति बाढीको बहाव एक्कासि बढेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको थियो ।
बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।




प्रतिक्रिया