काठमाण्डु– नवलपुरको गैंडाकोटमा रहेको भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूले १६ वर्ष देखि तलव नपाएको गुनासो गरेका छन् ।
सोमबार सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै १६ वर्ष देखिको तलव माग गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन मागपत्र बुझाएका हुन्।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गरिएको पत्रमा श्रमिकहरूको करिब ४० करोड रुपैयाँ बाँकी रहेको र तत्काल भुक्तानी गरिदिन माग गरेका छन् ।
यस्तै उनीहरुले गैँडाकोट नगरपालिकामा अवस्थित ६० बिगा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न समेत माग गरेका छन्।
‘निजी क्षेत्र (गोल्छा समूह)लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुर्व्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उडाएर मानव वस्तीमा डर र त्रास बढेको छ ।’ पत्रमा उल्लेख छ ।
आफ्नो ज्याला मजदुरी लामो समय देखि नपाउदा र पाउने आशामा बसेका कतिपय मजदुरको मृत्युसमेत भइसकेको बताइएको छ ।उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ।
यस्तै देशकै पहिलो उद्योग विराटनगर जुट मिलमा कार्यरत ४६ जना श्रमिक र कर्मचारीले वर्षौदेखिको ज्याला र तलब नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
पीडित मजदुर र कर्मचारीहरूले २०७३ जेठ १ गतेदेखि २०७७ मंसिरसम्मको तलब नपाएको गुनासो गरेका छन् । सो कुरा विराटनगर जुट मिलको लेपापरिक्षण रिर्पोटमा समेत उल्लेख छ ।
मजदुर र कर्मचारीले बुझाएको ज्ञापन पत्रमा लेखा परीक्षण भएको ३ करोड २ लाख ९३ हजार ९ सय २३ रुपैयाँ २२ पैसा एकमुष्ट रकम पाउनुपर्ने माग रहेको छ ।






प्रतिक्रिया