प्रधानमन्त्रीले सामन्ती दम्भ देखाए, एमसीसीको रकम सित्तैमा आएको भन्नु लज्जास्पद : भीम रावल

प्रधानमन्त्रीले सामन्ती दम्भ देखाए, एमसीसीको रकम सित्तैमा आएको भन्नु लज्जास्पद : भीम रावल


काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एमसीसीको रकमबारे दिएको अभिव्यति लज्जास्पद भएको टिप्पणी गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाले माओवादीको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा एमसीसी अन्तर्गतको रकमलाई ‘सित्तैमा आएको’ बताएका थिए ।

देउवाको सो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत नेता रावलले देशको प्रधानमन्त्री जस्तो व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु ‘जनता ठग्ने लज्जास्पद अभिव्यक्ति’ भएको उल्लेख गरेका हुन् । यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै नसक्ने रावलको तर्क छ ।

‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति ! यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन’ रावलले ट्वीटरमा भनेका छन् ।

साथै देउवाले एमसीसीमा कही राष्ट्रघात नदेखिएको भन्दै पढ्न सुझाव दिएका थिए भने सित्तैमा आएको रकम लिनुपर्ने तर्क गरेका थिए ।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अरुले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाएको उनले आरोप लगाए ।

‘प्रम देउवाले एमसीसीसंगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ’ उनले भनेका छन्, ‘सम्झौतामा कहीं राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति हो ।’