काठमाण्डु – राष्ट्रिय समावेशी आयोगले सार्वजनिक गरेको खस आर्य जातिको सूचीप्रति भुजेल समाज सेवा समितिले विरोध जनाएको छ ।
नेपाल सरकारले सूचिकृत गरेको ५९ जाति मध्येको एक जाती सिमान्तकृत अल्पसंख्यक आदिवासी जनजाती घर्ती/भुजेललाई समावेशी आयोगले खस आर्यको सूचीमा समावेश गरेपछि भुजेल सेवा समितिले विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको हो ।
समितिका सचिव तिर्सनजंग घर्तिले आयोगले सरकारसमक्ष पेश गर्न लागेको उक्त सूचिप्रति विरोध जनाउँदै आदिवासी जनजाति घर्ती/भुजेल जातिलाई खस आर्य जातिको सूचीबाट अविलम्ब हटाउन माग गरेका छन् ।
नेपाल सरकारले सुचिकृत गरेको घर्ती/भुजेल जातिलाई बदनियत पुर्वक खस आन्तर्गतको थरको सूचीमा समावेश गरि सिङ्गो आदिवासी जनजाती घर्ती/भुजेल जातिको पहिचान समाप्त पार्ने षडयन्त्र भैरहेको उनले बताए ।
उनले भनेका छन्, ‘समावेशी आयोगले कथित परामर्श दाताको सहयोगमा तयार गरेको खास आर्यको थर सूचिमा नेपाल सरकारको रातो किताबमा सूचिकृत आदिवासी जनजाती घर्ति/भुजेल सिङो जातिलाइ खस अन्तर्गतको थरको सूचिमा सुचीकृत गरि नेपाल सरकार समक्ष पेश गर्न लागिएकाले उक्त सूचिबाट घर्ति/भुजेल जातिलाई हटाउन माग गर्दछु ।’
त्यस्तै भुजेल सेवा समाजमा महासचिव पान बहादुर घर्तीले आयोगले सार्वजनिक गरेको उक्त विवरण सूची यथाशिघ्र सच्याँई पुनः प्रकाशन गर्न माग गरेका छन् ।





प्रतिक्रिया