काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
यो समाचार तयार पर्दासम्म भुकम्पमा परि मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुगेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि एक घन्टामा चार परकम्प गएको हो।
सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हुन्।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको बताए । उनले गए राती जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको दाबी गरे।
त्यस्तै अधिकारी पश्चिम नेपाल उच्च भूकम्पीय जोखिममा रहेको बताउँछन् । विगत ५ सय वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेला भयानक भूकम्प जान सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् ।
नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ।




प्रतिक्रिया