महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं : राष्ट्रिय भूमि आयोग


काठमाण्डु – राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाण्डुले सुकुम्बासीहरुको उचित व्यवस्थापन बिना नै काठमाण्डु महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रुपमा अघि बढेको पाइएको बताएको हो ।

राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाण्डुका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए । उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहीता लागू भएकाले काम गर्न नपाएको बताए ।

उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुम्वासीहरुको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए । उनले सुकुम्वासीलाई कहाँ व्यव्स्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले (सोमवार) बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको बताए । उनले यस्त गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए ।

उनले भने, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ । हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ । महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ । लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो । एक जना पनि सुकुम्वासी भूमिहीन हुन नपरोस् भन्ने हो । वार्ता बाहेकको अर्को कुनै विकल्प नै छैन ।’

अध्यक्ष प्रजापतीले सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

उनले यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुम्वासीहरुलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बतटाए । उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहेको भएपनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुम्वासीहरु छन् भन्नेकुराको यकिन हुने बताए ।

यता सोमवारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दाहरु भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement