ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक सांसद भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन् ।

उनी लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा पहिलोपटक संसद्मा पुगेकी हुन् ।

श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहनत गर्ने बेला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक रहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन कायम गर्न र समावेशी सिद्धान्तलाई कार्यान्वयनमा ल्याउनका लागि अब्बल रहेकाले रास्वपा रोजेको बताइन् ।

उनले भनिने, ‘रास्वपाले समावेशी सिद्धान्तलाई एकदमै ख्याल राख्ने गर्दछ । आफ्नो सहभागितालाई पार्टीले सकारात्मक ढङ्गले लिएको छ । सुशासन कायम गर्ने समावेशी सिद्धान्तलाई अगाडि ल्याउनका लागि पार्टी एकदमै अब्बल छ ।’

संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायको आवाज समावेश भएपनि कार्यान्वयनमा नआउँदा समस्या भएको उनले सुनाइन् । अब आफ्नो मुख्य एजेन्डा भनेको आवश्यक नियम कानून बनाउन सहयोग गर्ने, समुदायको आवाजलाई कसरी अगाडि लैजाने भनेर मुद्दाहरू अगाडि बढाउने रहेको बताइन् ।

उनले भनिन्, ‘संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज समावेश भएको छ । तर उचित संयन्त्र वा संरचना नहुँदा कार्यान्वयनमा ल्याउन कठिनाइ भइरहेको छ । जुन खालको नीति नियम र कानून बन्नुपर्ने, जुन खालको खाका तयार गर्नुपर्ने थियो । त्यो तयार भएको छैन । अब म त्यसका लागि सक्रिय हुनेछु ।’

आफ्नो समुदाय मात्र नभई मधेशी, मुस्लिम, अपाङ्गता भएको व्यक्तिको आवाजलाई समेत उठाएर लानुपर्ने आफ्नो जिम्मेवारी भएको उनले बताइन् । विविधतामा एकता भनेजस्तै पछाडि परेको आवाज र मुद्दालाई अगाडि ल्याउने मूल एजेन्डा आफूले अगाडि सार्ने उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकताको समस्या, लैगिक अल्पसंख्यकको कुरा र वैवाहिक समानताका मुद्दालाई एउटा किनारामा ल्याउनुपर्ने दायित्व आफ्नो रहेको श्रेष्ठले बताइन् । अबको ५ वर्षमा समुदायको बढी फोकस गरेर काम गर्ने उनले सुनाइन् ।

समुदायको अलग्गै राजनीतिक दलबारे आफूले नसोचेको बताउँदै श्रेष्ठले नेपालका सबै राजनीतिक दलहरूले सबै समुदायका मुद्दाहरू समान रूपले बोक्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा रास्वपा नेतृत्वकै सरकार बन्ने भएकाले पार्टीले दिएको जिम्मेवारी आफूले निर्वाह गर्ने बताइन् ।

मन्त्रालयको जिम्मेवारी आए पछि नहट्ने उनको भनाइ छ । डेढ दशकदेखि समुदायका मुद्दा उठाउँदै आएपनि अब थप सशक्त बनेर काम गर्ने उनको विश्वास छ ।