भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान, सडकका मुद्दा सदनमा पुग्ने विश्वास

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान, सडकका मुद्दा सदनमा पुग्ने विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ब्लू डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यका रूपमा मनोनित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा बिदाइ गरेको छ ।

सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रमबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा मनोनित श्रेष्ठलाई सम्मान तथा बिदाइ गरिएको हो ।

कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेशी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका हरेक आवाजहरूलाई सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘आदिवासी जनजाति, मुस्लिम, मधेशी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका हरेक आवाजहरूलाई सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । भविष्यमा मैले गर्नुपर्ने कामको लागि यहाँहरू सबैको साथ सपोर्ट रहन्छ भन्ने विश्वास लिएको छु ।’

सञ्चारमाध्यमले मुद्दा उठाइदिएको कारणले समुदायको प्रतिनिधित्व संसदसम्म पुग्न सफल भएको भन्दै उनले विशेष धन्यवाद व्यक्त गरिन् ।

सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले २४–२५ वर्षपछि लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सदनमा हुन लागेको यो अवसरले संघर्ष गरे पनि सफलता प्राप्त गर्न सकिँदैन भन्ने अवस्था अन्त्य भएको धारणा राखिन् ।

‘२४–२५ वर्षपछि बल्ल हामीले यो अवसर पाएको छौं । हामीले संघर्ष गरेपछि सफलता प्राप्त गर्न सकिँदैन भन्न सक्ने अवस्था चाहिँ रहेन,’ उनले भनिन् ।

सडकका मुद्दाहरूलाई संगालेर र ती मुद्दाहरूलाई मनन गरेर सदनसम्म पुर्‍याउन भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ । ‘सडकका मुद्दाहरूलाई संगालेर ती मुद्दाहरूलाई मनन गर्दै सदनसम्म पुर्‍याउने छन् । हाम्रो समुदायका अधिकारका पानाहरू लेखिनेछन् । त्यो दिनको अपेक्षा गरेको छौं,’ उनले भनिन् ।

सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरु खारेज गर्न सुझाव दिइन् ।

भूमिका श्रेष्ठ ब्लु डाइमण्ड सोसाइटीबाट ट्रान्सजेन्डर महिलाको रूपमा संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्दैछिन् ।