धम्कीको भाषा बोल्दै हिँड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामा आघात : नेता शाही

धम्कीको भाषा बोल्दै हिँड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामा आघात : नेता शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको आरोप लगाएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले आशंका बलियो बनाएको बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकार विरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैरजिम्मेवार धारणा सार्वजनिक गरेर सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका बढेको पनि उनले  बताए ।

जेनजी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियारलाई नियन्त्रणमा लिन तत्काल सुरक्षा निकायलाई परिचालन गर्नुको सट्टा अराजकता मच्चाउने, आगजनी गर्ने र लुटपाट गर्नलाई कारबाही नगर्न प्रहरीलाई दबाब दिने गृहमन्त्रीको व्यवहारले उनकै विरुद्ध धेरै प्रश्नहरू खडा भएको पनि उनको भनाइ छ ।

उनले हालका गृहमन्त्रीले बारम्बार आफैं अराजक अभिव्यक्ति दिँदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेका भन्दै उनको गतिविधिले निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था गर्न सक्दैन र यो सरकार फागुन २१ गते निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको पनि बताए ।

डरत्रासको अन्त्य गर्ने, भयरहित वातावरण सिर्जना गर्ने र कानूनी राज्यको पालना गर्नुको सट्टा उल्टै धम्कीको भाषा बोल्दै हिँड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामाथि आघात पुर्‍याएको छ र सामाजिक सद्भावमा खलबलको अवस्था  सिर्जना गरेको र गृहमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारीमा बसेर एथेन्टिक सूचना विना नेताहरू भागे भनेर भ्रामक हावा समाचार फैलाउँदै हिँड्नु उनको अफवाहको खेती हो भन्ने पुष्टि भएको उनको भनाइ छ ।