काठमाडौं – सर्वोच्च अदालतले सहमतिमा गरिने यौन सम्बन्धलाई पनि अवैधानिक भन्दै नयाँ नजिर निर्माण गरेको छ । सर्वोच्चले पदीय आवरणमा हुने यौन सम्बन्धलाई बलात्कारको रुपमा परिषभाषा गरेको हो ।
न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सोमबार चण्डीप्रसाद गण नागपोखरीमा कार्यरत क्यापटेन भुपेन्द्र खड्काले कुचिकार महिलासँग अवैध याैन सम्बन्ध राखेको अभियोगमा दायर भएको मुद्दामा यस्तो नजिर निर्माण गरेको हो ।
के हाे घटना ?
२०६९ भदौ ३० गते क्यापटेन खड्का र एक कुचिकार महिलाबीच सहमतिमा यौन सम्बन्ध भयो तर, महिला गर्भवती भएपछि क्याप्टेन खड्काले भारतमा लगेर गर्भपतन गराउने निर्णय लिन्छन् तर, दुवै जना भारत जान ना ४ ख १५०३ नम्बरको यात्रुबहाक बस चढेर महेन्द्रनगरतर्फ जान्छन् । त्यही बेला उनीहरु किन भारत जाँदैछन् भनि प्रहरीलाई शंका लागेपछि नागढुङ्गा प्रहरीले नियन्त्रणामा लिन्छ । सुरुमा प्रहरीले बेचविखनका लागि लैजान लागेको भनि शंकाको भरमा पक्राउ गर्छ ।
पछि अनुसन्धानका लागि सैनिक प्रहरी गणमा बुझाइन्छ । सैनिकको अध्ययनमा उनीहरु बेचविखनका लागि नभई सहमतिमा यौन सम्बन्धपछि गर्भवती भएर त्यसको पतनका लागि भारत जान लागेको खुल्छ । उक्त कुराको खुलासा भएपछि सेनाले थप अध्ययन थाल्छ । सैनिक अध्ययनपछि दुवैले आफ्नो कर्तब्य र जिम्मेबारीप्रति वेवास्ता गरी अनैतिक शारीरिक सम्पर्क राखेको ठहर गर्छ । सैनिक अदालतले दोषी ठहर गरेपछि सहसेनानी खड्काले जागिरबाट हात धुनु परेको थियो ।
सर्वोच्चले पुरुष ठूलो पदमा र महिला सानो पदीय ओहोदामा रहेकाले सहमतिमै भए पनि यसलाई यौन शोषण मानेको छ । यस्तो खालको यौनसम्बन्धलाई जानेर, बुझेर दिइएको सहमति मान्न नसकिने सर्वोच्चले नजिर प्रतिपादन गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिका रुपमा हेरिनुपर्छ । पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहकी महिला सैनिकसँग यौनसम्बन्ध राख्न लिएको सहमति अनुचित प्रभावमा पारी लिएको भनी बुझ्नुपर्छ ।’
कानुनअनुसार समरी जनरल सैनिक अदालतले २०६९ पुस ५ मा २० दिन कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको थियो । त्यसैगरी सैनिक विशेष अदालतले सुरुकै फैसला सदर गरेको थियो । सर्वोच्चले समरी जनरल अदालतको फैसला सदर गरेको हो ।
सैनिक अधिकृतले दुवैबीच आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको स्वीकारेका छन् । सर्वोच्चले एउटै संस्थामा सैनिकका रुपमा कार्यरत दुवैबीच तहगत रुपमा निकै फराकिलो अख्तियारी रहेको ठहर गरेको छ ।
‘निजहरु बीचमा पदसोपान शृंखलामा निकै अन्तर रहेको पाइन्छ’, सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘एउटै संगठनमा कार्यरत दुवैबीच असन्तुलित शक्ति सम्बन्ध देखिन्छ ।’ सर्वोच्चले पदीय शक्ति, आर्थिक, सामाजिक शक्ति बलियाले प्रयोग गर्ने ठहर गरेको छ ।
‘शक्ति सम्बन्धको आधारमा खराब आचरण र अनुशासनको विषय हो÷होइन अदालतले संवेदनशील भएर विवेचना गर्नुपर्छ’, सर्वोच्चले भनेको छ । विभिन्न प्रभावमा दुवैबीच पटकपटक यौन सम्बन्ध भएको र डर तथा प्रभावमा भारतमा इच्छाविपरीत गर्भपतन गराउन लैजान लागेको कार्य सैनिक ऐनअनुसार कसुर देखिएको फैसलामा उल्लेख छ ।
पीडित भनिएकी कुचिकार छविसरा सुनारसँग सहसेनानी खड्काले विवाहित भनेको जान्दाजान्दै यौन सम्पर्क गरेको फैसलामा भनिएको छ ।




प्रतिक्रिया