काठमाण्डु – सरकारले भुटानी शरणार्थीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको सरुवा गर्ने तयारी गरेको छ । गृह स्रोतले दिएको जानकारीअनुसार सरकारले उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा प्रमुख श्यामलाल ज्ञवाली, प्रशासन विभागमा रहेका दिपक थापा र अपराध अनुसन्धान विभाग प्रमुख रहेका एसएपी मनोज केसीको सरुवा गर्ने तयारी भएको हो ।
उपत्यका प्रहरी प्रमुख ज्ञवाली र अपराध महाशाखाका प्रमुख केसीले आर्थिक लेनदेन गरेर नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने गिरोहमाथि अनुसन्धान गरेर कार्वाहीको दायरमा ल्याउन भुमिका खेलेका थिए । यो प्रकरणमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवंम् पूर्व गृहमन्त्री बालकृष्ण खांड, नेकपा एमालेका सचिव एवंम् पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझि र पूर्व गृहसचिव टेकनारायण पाण्डे थुनामा छन् ।
पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान समेत चांडै सुरु गर्ने तयारी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भेटमा प्रहरी अधिकारीहरुको सरुवाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
पहिलो चरणको अनुसन्धानमा एआईजी ज्ञवालीले नै नेतृत्वदायी भुमिका खेलेका थिए । यो प्रकरणमा धेरै उच्चपदस्थहरु प्रक्राउ परेसंगै उनलाई हटाउन दबाव थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि नै ज्ञवालीलाई सरुवा गर्न कांग्रेसको दबाव थियो । तर, प्रधानमन्त्री दाहालले त्यतिबेला सरुवा रोकेका थिए ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले एआईजी ज्ञवाली र एसएसपी केसीलाई हटाउन गृहमन्त्री श्रेष्ठलाई दबाव दिइरहेका छन् । तर, गृहमन्त्रीले भने यसअघि उनिहरुको सरुवा गर्न नसक्ने अडान लिएका छन् । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेसंगै गृहमन्त्री श्रेष्ठ अफ्ठेरोमा परेका छन् ।
शर्माले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै आलोचना गरिरहेको बेला शर्मालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । शर्मालाई पक्राउ गरेपछि पूर्वाग्रह सांधेको भन्दै गृहमन्त्री र सिआईबीको आलोचना भइरहेको छ ।
एआईजी ज्ञवाली चार महिनाअघि मात्र उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएका थिए । उनलाई हटाएर एआईजी दिपक थापालाई ल्याउने तयारी छ । ज्ञवाली प्रहरी महानिरीक्षकको दावेदार थिए । उनि हाल अमेरिकामा तालिममा छन् । एआईजी ज्ञवालीको सरुवा गर्न पूर्व प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह समेत लविङमा थिए ।
प्रधानमन्त्री समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ उनलाई प्रहरी महानिरीक्षक बनाउनेमा भएपनि कांग्रेस नेताहरुको दबावमा बसन्त कुंवर प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।
यता व्यवसायिक अधिकृतको छवी बनाएका केसी पनि ८ महिनामै सरुवा हुने भएका हुन् । केसी र काठमाण्डु प्रहरी प्रमुख दानबहादुर कार्की गत पुषमा सरुवा भएका थिए ।




प्रतिक्रिया