काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र बेचेन झालाई आज जिल्ला अदालत काठमाण्डुमा पेस गरिने भएको छ । दुबै जनालाई प्रहरीको विषेश टोलीले शुक्रबार पक्राउ गरेको थियो ।
बादलपुत्र थापालाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि र झालाई म्याद थपका लागि अदालतमा पेस गरिने काठमाण्डु जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले थापालाई यसअघि पेस भएको अभियोग पत्रमा जिल्ला अदालत काठमाडौँवाट जारी भएको पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको जानकारी दियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार रहेको आरोपमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डुले थापालाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो । बादल गृहमन्त्री भएको बेलामा बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा रकम उठाएको प्रमाण अनुसन्धानका क्रममा भेटिएको प्रहरीले बताएको छ । प्रहरीले ०८० वैशाख ३१ गते प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै बिचौलियाबाट १ करोड रुपैयाँ लिएको दाबी प्रहरीले अभियोग पत्रमा गरेको छ।
जिल्ला अदालत काठमाडौँका अनुसार प्रतीकलाई अदालत पेस गराएपछि जिल्लाले सुरुमा उनको बयान गराउने छ । बयानपछि उनको पुर्पक्षका लागि बहस हुने छ। पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने इजलासले निर्णय गर्ने छ। जिल्लाले बहसपछि थुनामा पठाए उनी न्यायिक हिरासतमा रहने छन् भने धरौटी माग गरेमा तोकिएको रकम बुझाएर रिहा हुन पाउने छन् ।
झाको बारेमा अनुसन्धान गरेर पूरक अभियोगपत्र लैजाने प्रहरीको तयारी छ। च्च राजनीतिक संलग्नताको अनुसन्धानका लागि झालाई पक्राउ गरिएको हो । झाले मन्त्रालय र राजनीतिक व्यक्तिहरूका बिचमा सम्बन्ध विकास गराएर घुस लिई बिचौलियाको काम गरेको आरोप प्रहरीको छ ।




प्रतिक्रिया