काठमाण्डु – विवेकशील साझा पार्टीले एमसीसीमा अब थप राजनीति नगर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै अबका दिनमा पनि एमसीसीमाथि थप राजनीति गर्नु भनेको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु भएको बताएका छन् ।
सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैलीका कारण चीन र अमेरिकाको सक्रियता बढेर एमसीसी पेचिलो भू–राजनीतिक मुद्दा बन्न पुगेको र त्यो शुभ संकेत नभएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अबका दिनमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो । त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
एमसीसी सम्झौतालाई गिजोलेर संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएको आरोप पनि लगाइएको छ । एमसीसी आइतबारको संसद्बाट अनुमोदन गरिएको हो ।




प्रतिक्रिया