काठमाण्डु – सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद प्रक्रियामा भइरहेको ढिलाई तथा अन्य देशमा उत्पादित खोप ल्याउन भएको अलमलबारे विवेकशील साझा पार्टीले सरकारमाथि प्रश्न उठाएको छ ।
कोरोना विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति विवेकशील साझा पार्टीले चासो देखाएको छ ।
व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकारले आफ्नो असक्षमता ढाकछोप गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खोप प्रकरणमा सरकार नै दोषी देखिएको भन्दै विवेकशील साझाले सरकारलाई चारवटा प्रश्न गरेको छ ।
१. महामारीजस्तो राष्ट्रिय/विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन?
२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ? फेरी, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र?
३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध ग¥यो?
४. प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ?
चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो। यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस्।
तर सरकार त्यतिमै उम्किन पाउँदैन, यी सबै घटनाको उसले जिम्मेवारी लिनुपर्छ। विवेकशील साझा पार्टी माथि उल्लेखित चार प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष पेस गर्न सरकारसँग माग गर्दछ। अन्यथा राज्यले आफूलाई निरीह देखाएर, आंशिक विवरणहरू मात्र बाहिर ल्याएर सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न अनेक भाष्य निर्माण गर्नु कदापि स्वीकार्य हुन सक्दैन।
जनताको अभिभावक सरकार हो, व्यापारी होइन। राज्य शक्ति सरकारसँग छ, व्यापारीसँग होइन। तसर्थ भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ ।




प्रतिक्रिया