विवेकशील साझाको विवाद सर्वोच्च पुग्यो, मिश्रविरुद्ध मिलन पाण्डेले दिए उजुरी


काठमाण्डु – विवेकशील साझाका संयोजक मिलन पाण्डेले निर्वाचन आयोग र पार्टी अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । विवेकशील साझाको जारी विवादमा अवैधानिक कारबाही गरिएको भन्दै पाण्डेले मिश्र र आयोगविरुद्ध आज सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

संयोजक पाण्डेले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने अध्यक्ष मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरुद्ध अदालत गएको बताए ।

रिटमा २०७८ भदौ १७ पश्चात् विवेकशील साझा पार्टीको विधान– २०७४ (पहिलो संशोधन) खारेजी, नयाँ विधान २०७८ जारी र केन्द्रीय सदस्यहरूको राजीनामा स्वीकृति तथा केन्द्रीय संयोजक मिलन पाण्डे उपरको कारवाहीको निर्णय बदर गर्दै त्यसपूर्वको विधि, विधान र प्रक्रियाको आधारमा पार्टीलाई सञ्चालन गर्नु÷गराउनु भनी विपक्षीका नाममा परमादेशको माग गरिएको छ ।

यस्तै २०७८ भदौ १७ पश्चात् विवेकशील साझा पार्टीको नाममा रवीन्द्र मिश्रले गरेका निर्णय र प्रस्तुत गरेका दस्ताबेजलाई निर्वाचन आयोगले दिएको मान्यता समेत उत्प्रेषणको आदेशले बदर गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement