विदेशमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउन परामर्श


काठमाडौँ –  विदेशमा रहेका नेपाली नागरिक फिर्ता ल्याउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित आफ्ना समकक्षीसँग परामर्श थाल्नु भएको छ ।

भारतबाहेक तेस्रो मुलुकका नेपाली नागरिक फिर्ता ल्याउने विषयमा नेपाल सरकारले तीव्र तयारी गरिरहेका बेला मन्त्री ज्ञवाली आफैँले विदेशका नेपालीको सकुशल फिर्ताका लागि पहल थाल्नु भएको हो ।

सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार कुवेतका विदेशमन्त्री डा. अहमद एअल सबाहसँग सोमबार टेलिफोन वार्ता गर्नुभएको छ । टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले कुवेतमा रहनुभएका नेपाली नागरिकका बारेमा चासो राख्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको असरका कारण कुवेतमा विभिन्न समस्यामा परेका नेपालीका बारेमा मन्त्री ज्ञवालीले जिज्ञासा राख्नु भएको जनाइएको छ । “कुवेतस्थित नेपाली नागरिकको सुरक्षा, कल्याण र चाहेको खण्डमा सुरक्षित रूपमा स्वदेश फिर्तीका बारेमा छलफल भयो,” मन्त्री ज्ञवालीले भन्नुभयो ।

कुवेतमा यति बेला करिब तीन हजारको सङ्ख्यामा नेपाली नागरिक अप्ठेरो अवस्थामा छन् । नेपाल फर्कन दूतावासमा नाम दर्ता गराएर सेल्टरमा बसेका उनीहरू फर्कने बाटो कुरिरहेको कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । कुवेतमा ७० हजार नेपाली रोजगारका लागि रहेका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement