राष्ट्रपति भण्डारीद्वारा क्रिसमस डे को शुभकामना


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शनिबार सन्देशमार्फत शुभकामना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement