राष्ट्रपति भण्डारीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता

राष्ट्रपति भण्डारीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका अध्यक्षहरुसँग सामूहिक भेटवार्ता गरेकी छन् । आफ्नो ५ वर्षको कार्यकाल पूरा गरेकी राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वहरुसँग सामूहिक भेट गरेकी हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सहित सबै दलका अध्यक्षहरुलाई राष्ट्रपति भण्डारीले शीतल निवास डाकेकी थिइन् ।

भेटमा भण्डारीले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा दलहरुलाई धन्यवाद दिएकी थिइन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कार्याकाल समग्रमा सफल भएको बताए । ‘केही विषयमा हाम्रा असन्तुष्टिहरु पक्कै थिए तर यहाँको कार्यक्रम समग्रमा सफल भएकोमा बधाइ दिन चाहन्छु’, प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले बतायो ।

भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपाका उपेन्द्र यादव, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, लोसपाका महन्थ ठाकुर उपस्थित थिए । उनीहरुबीच चियापानसहित करिब २ घण्टाको भेट भएको स्रोतले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भाइको शोकमा रहेका कारण उपस्थित थिएनन् भने नेमकिपाका अध्यक्ष नारायणमान विजुच्छे पनि अनुपस्थित थिए । त्यस्तै, उपत्यका बाहिर रहेका कारण जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपस्थिति थिएन भने जनमत पार्टीका अध्यक्ष सीके राउत कार्यक्रममा व्यस्त भएको भन्दै सहभागी थिएनन् ।