काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरै आफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताएकी छिन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले विधिपूर्वक एमालेको सदस्यता नवीकरण गरेको बताएकी हुन्।
उनले भनिन्, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’
उनले पार्टी सदस्यताबाट वञ्चित गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको बताइन् । उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन् ।
‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, ‘यसले साख गिर्नेछ ।’ उनले भनिन् ।
उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।
उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’




प्रतिक्रिया