विद्या भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित : शंकर पोखरेल

विद्या भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी नकारात्मक टिकाटिप्पणी कडाईका साथ रोक्नुपर्ने पार्टीको निष्कर्ष सुनाएका छन्।

एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिका रूपमा पुर्‍याएको योगदानलाई गौरवपूर्ण ठहर गर्दै उच्च सम्मान जनाएको छ। उक्त निर्णयको आधारमा महासचिव पोखरेलले हाल देखिएको नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसलाई तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति विभिन्न किसिमका नकारात्मक टिकाटिप्पणीहरू आइरहेका छन्। उहाँको गरिमा र सम्मानमा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन। यही सन्दर्भमा पार्टीले आवश्यक राजनीतिक निर्णय लिएको हो,’ पोखरेलले बताए।

उनका अनुसार, नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपतिका रूपमा भण्डारीले निर्वाह गरेको अभिभावकीय भूमिका सम्मानजनक रहेको पार्टीको ठहर छ। उनले भण्डारीलाई केवल एमालेको सदस्यको रूपमा होइन, राष्ट्रकै स्थायी अभिभावकका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे।

‘राष्ट्रपतिका रूपमा उहाँले राष्ट्रियता, स्वाभिमान र जनहितमा पुर्‍याएको योगदान अतुलनीय छ। त्यसैले उहाँ पदमा नरहे पनि सम्माननीय रहनुपर्छ भन्ने कुरालाई पार्टीले संस्थागत रूपमा मान्यता दिएको छ,’ पोखरेलले भने।

उनले संवैधानिक राष्ट्रपतिको सम्मान पदमा रहँदा मात्र होइन, पदमा नरहे पनि कायम रहनुपर्ने उल्लेख गर्दै, पूर्वराष्ट्रपतिलाई विशिष्ट मर्यादा दिनुपर्ने कुरालाई गणतन्त्रको संस्थागत विकास, पार्टी र स्वयम् व्यक्तिको हितसँग जोडिएको सत्य भन्दै त्यसको गलत अर्थ नलगाउन आग्रह गरे।

पूर्वराष्ट्रपति भण्डारी स्वयं पनि पार्टीको निर्णयप्रति स्पष्ट रहेको पोखरेलको भनाइ छ। ‘केहीले पूर्वराष्ट्रपति भर्सेस पार्टी भन्ने भ्रम फैलाउने प्रयास गरे पनि त्यो हल्लाको आयु सकिएको छ। यथार्थमा यस्तो द्वन्द्व कहिल्यै थिएन,’ उनले स्पष्ट पारे।

एमालेले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किन नपाउने निर्णय गरिसकेको जनाउँदै पोखरेलले त्यसबारे पनि विस्तृत चर्चा गरे। साथै, उनले भण्डारीप्रति गरिएको नकारात्मक टिप्पणीलाई गणतन्त्रविरोधीहरूको योजनाबद्ध गतिविधि भएको आरोप समेत लगाए।

अन्त्यमा, महासचिव पोखरेलले एमाले नेतृत्वका विषयमा गरिएको विरोध र प्रचारबाजी अब निराधार भइसकेको दाबी पनि गरे।