ओलीले पहिला विद्या भण्डारीको सदस्यता रोके, अहिले विष्णु र शंकरलाई ठेगान लगाउन ‘रातो कार्पेट ओछ्याए

ओलीले पहिला विद्या भण्डारीको सदस्यता रोके, अहिले विष्णु र शंकरलाई ठेगान लगाउन ‘रातो कार्पेट ओछ्याए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने भएको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

सचिवालयको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेपछि भण्डारी विधिवत एमाले वरिष्ठ नेता बन्ने छिन् । वरिष्ठ नेतामा स्थापित भएसँगै भण्डारीका लागि एमालेभित्र औपचारिक राजनीतिक भूमिकामा फर्कने बाटो खुलेको छ ।

केही समयअघिसम्म उनको सदस्यताकै विषय विवादमा थियो । राष्ट्रपति पदमा रहँदा पार्टी राजनीतिबाट अलग भएकी भण्डारीले सदस्यता नवीकरणका लागि निवेदन दिए पनि अध्यक्ष केपी ओलीले हस्तक्षेप गरेर रोकेका थिए ।

एमालेले एक समय राष्ट्रपति र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्तिले पार्टी सदस्यता कायम राख्न नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता नवीकरण रोकिएको जनाएको थियो ।

पार्टीभित्रको अर्को बहस भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले एमालेको नेतृत्व समीकरणमा पार्न सक्ने प्रभावसँग जोडिएको थियो ।

भण्डारी पुनः सक्रिय राजनीतिमा आए अध्यक्ष ओलीको नेतृत्वका लागि दबाब बढ्न सक्ने भएकाले उनको सदस्यता रोकिएको दाबीसमेत पार्टीभित्रबाट हुँदै आएको थियो । यो दाबीलाई ओली पक्षले भने स्वीकार गरेको छैन ।

समयक्रममा ओली र भण्डारीबीचको राजनीतिक दूरी घट्दै गएको देखिएको छ । उनीहरूबीच पछिल्लो समय भेटवार्ता भएको थियो ।

यहीबीच एमालेले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको थियो । त्यसपछि उनी एमालेका औपचारिक कार्यक्रममा समेत सक्रिय हुन थालेकी थिइन् ।

एमालेभित्र पछिल्लो समय नेतृत्व, पार्टी पुनर्गठन र कम्युनिस्ट शक्तिबीचको एकताबारे बहस चलिरहेका बेला भण्डारीको भूमिकालाई लिएर पनि विभिन्न तहमा छलफल हुँदै आएको छ ।

कम्युनिस्ट शक्तिहरूबीच एकता भए भण्डारीलाई नेतृत्वमा अघि सार्न सकिने विषयमा समेत राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ ।

पार्टी पुनर्गठनको नाममा आफूलाई नेतृत्वबाट हटाउन सक्रिय रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ठेगान लगाउन ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा रातो कार्पेट ओछ्याएको हुन सक्ने आंकलन समेत गरिएको छ ।