काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न आह्वान गरेकी छन् ।
कोभिड १९ बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश प्रकाशित गर्दै उनले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गरेकी हुन् ।
सन्देशमा उनले कोरोना भाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा सबैलाई एकजुट भइ अघि बढ्न आग्रह गरेकी छन् ।
उनले सन्देशमा नेपाल सरकारद्वारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागु गरिएको ‘लकडाउन’का अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिने बताएकी छन् । उनले भनेकी छन्, ‘यस समयलाई हामी सबैले देशको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’
सन्देशमा उनले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रवन्ध मिलाउन सङ्घ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाबीच सुदृढ समन्वय कायम हुनुपर्नेमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराएकी छन् ।
आजको यस संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोभिड १९ विरुद्ध सचेतनापूर्वक अग्रसर हुन सम्पूर्ण राजनीतिक दल तथा तिनका भ्रातृ तथा भगिनी सङ्गठन, चेतनाका संवाहक युवा तथा विद्यार्थी समुदाय, कल्याणकारी सङ्घ संस्थालगायत सबैलाई आह्वान समेत गरेकी छन् ।
कोरोनाविरुद्ध जुध्नका लागि सम्पूर्ण सुरक्षा संयन्त्र र चिकित्सक एवं स्वास्थ्यकर्मीबाट भइरहेको सत्प्रयासमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् । सन्देशमा उनले यस महामारीबाट अहिलेसम्म विश्वका प्रायः सबैजसो देश प्रभावित हुनाका साथै चार लाखभन्दा बढी जनामा सङ्क्रमण भइ १८ हजारभन्दा बढीको ज्यान गइसकेकाले संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आआफ्ना ठाउँबाट क्रियाशील हुन आह्वान समेत गरेकी छन् ।
‘सुरुमा चीनको वुहान शहरमा देखापरेको यस महामारीविरुद्ध चिनियाँ सरकारद्वारा सञ्चालित प्रभावकारी जनस्वास्थ्य प्रतिकार्य र यसमा त्यहाँका लगनशील एवं अनुशासित स्वास्थ्यकर्मी तथा जनताको सक्रिय सहभागिताका कारण चीनमा यो रोग लगभग नियन्त्रणमा आएको ठानिएको छ’, उनको सन्देशमा भनिएको छ, ‘तर अहिले यो महामारी एसियाका दक्षिण कोरिया, जापान, इरान, युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्सलगायत अमेरिका र बाँकी देशहरूमा समेत फैलिइसकेको छ । यस महामारीको विरुद्धमा विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न अन्तर्रा्ष्ट्रिय र क्षेत्रीय मञ्चहरू सहित प्रभावित देशका सरकारहरू तदारुकताका साथ क्रियाशील बनेका छन् ।’
आजसम्म कोभिड १९ विरुद्धको प्रभावकारी औषधि र खोप विकास भइनसकेको र आर्थिक रूपमा सम्पन्न एवं सुदृढ स्वास्थ्य प्रणाली भएका विकसित देशलाई समेत यो महामारी नियन्त्रण गर्न कठिनाइ भइरहेका सन्दर्भमा रोगको सङ्क्रमणको रोकथाममा नै हाम्रा प्रयास केन्द्रित हुनुपर्ने सन्देशमा राष्ट्रपतिले बताएकी छन् । कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि शारीरिक दुरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प हुनेमा उनले जोड दिएकी छन् ।




प्रतिक्रिया