परम्पराका नाममा विभेदजन्य पक्षलाई सुधार गर्दै जानुपर्छः राष्ट्रपति भण्डारी

परम्पराका नाममा विभेदजन्य पक्षलाई सुधार गर्दै जानुपर्छः राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वले देशको विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गरेको बताएकी छन् ।

बिहीबार जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले परम्पराका नाममा प्रचलित विभेदजन्य एवं अव्यवहारिक पक्षहरूलाई समय सापेक्ष सुधार गर्दै जानुपर्ने बताइन् ।

‘हाम्रो देशमा मनाइने यस किसिमका चाडपर्वहरूले हाम्रो विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेका हुन्छन्’, उनले भनिन्, ‘यी चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यासहरू एवं अव्यवहारिक पक्षहरूलाई समय सापेक्ष सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेको छ ।’

त्यस्तै उनले तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका जितीया पर्व मनाउने नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको कामना गरेकी छन् ।

‘जिमुतवाहन व्रत समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ’, उनले भनिन् ।

सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्‍वास‚ सद्‍भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका संपूर्ण नेपालीहरूका बीचमा समेत परस्पर सद्‍भाव‚ सहिष्णुता‚ समझदारी र ऐक्यवद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

त्यस्तै भण्डारीले जितीया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्ने विश्वास लिएको बताइन् ।