वामदेवलाई राष्ट्रपतिको आग्रहः पार्टी एकता जोगाउन निर्णायक भूमिका खेल्नुपर्‍यो

वामदेवलाई राष्ट्रपतिको आग्रहः पार्टी एकता जोगाउन निर्णायक भूमिका खेल्नुपर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

मंगलबार शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको पछिल्ले घटनाक्रमबारे जानकारी लिएको उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए । राष्ट्रपति भण्डारी र उपाध्यक्ष गौतमबीच आधा घण्टा छलफल भएको थियो ।

‘उपाध्यक्षज्यूलाई राष्ट्रपतिले बोलाउनु भएको थियो । पार्टी एकता जोगाउन तपाईले विगतमा पनि भूमिका खेल्दै आउनुभएको हो । अब यो पटक पनि निर्णायक भूमिका खेल्नुपर्‍यो भन्नभयो’, संयोजक सुवेदीले काठमाण्डुपाटीसँग  भने ।

जवाफमा उपाध्यक्ष गौतमले पार्टी फुट्न नदिने र एकता कायम राख्न आफूहरु लागि परेको बताए । उनले विधि र पद्धतीको पक्षमा गम्भीर छलफल भइरहेको जानकारी गराएका थिए ।

‘हामी एकतासहित विधि र पद्धतिको पक्षमा गम्भीर छलफलमा लागेका छौं । पार्टी एकता कायम रहन्छ । हामी जसरी पनि यो एकता कायम राख्छौं । म व्यक्तिगत रुपमा पनि एकता जोगाउन लागि परेको छु । पार्टी एकता रहन्छ हामी लागिरहेका छौं’, उपाध्यक्ष गौतमको भनाई उद्धृत गर्दै सुवेदीले भने ।

राष्ट्रपति भण्डारीले सत्तारुढ पार्टी विभाजित हुनु मुलुककै लागि घातक भएकाले राजनीतिक दलहरु विभाजित हुन नहुने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।

उनले भने, ‘पार्टी एक रहोस् भन्ने चिन्ता व्यक्त गर्नुभयो । राजनीतिक दलहरु विभाजित नहुन भन्नेमा उहाँको चिन्ता थियो । यसमा पनि सत्तारुढ पार्टी नेकपा विभाजित नहोस् भन्ने उहाँको विशेष चासो थियो ।’