जनकपुरधाम – नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा वर्षेनी दिइने नेपाल विद्यापति मैथिली पुरस्कार अन्तर्गत दुई लाख पुरस्कार राशि भएको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष चन्द्रशेखर उपाध्यायले पाउने भएका छन् ।
सबैभन्दा ठूलो राशीको उक्त पुरस्कार धनुषा रघुनाथपुरका उपाध्यायलाई ‘सुदामा चरित्र’ नामक मैथिली खण्डकाव्यका लागि प्रदान गरिने कोषले पत्रकार सम्मेलन गरी आइतबार जानकारी दिएको हो ।
यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ । उनले ‘कालो सूर्य’ नामक नेपाली भाषाको उपन्यास मैथिलीमा अनुवाद गरेका छन् । नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार जनकपुरका पत्रकार उपेन्द्रभगत नागवंशीलाई दिइने भएको कोषले छ ।
नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने छ । त्यसैगरी नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको छ । यी पुरस्कारको राशी जनही एक–एक लाख रुपैयाँ रहेको छ ।
उनीहरू सबैलाई कोषको विधानबमोजिम यही आर्थिक वर्षभित्र पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ । मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान र्पुयाउने व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कात्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको थियो ।




प्रतिक्रिया