काठमाण्डु– नेपाल विद्युत प्राधिकरणले चितवनमा लोडसेडिङ सुरू भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएको छ ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्राधिकरणले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिनुलाई लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।
विज्ञप्तीमा भनिएको छ- ‘चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन साउन १६ का लागि निकालेको लोड व्यवस्थापन तालिकाले श्रृजना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणा प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ ।’
यस्तै विज्ञप्तीमार्फत वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिंचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई ‘लोडसेडिङ तालिका’ शिर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको स्पष्ट पारिएको छ ।
प्राधिकरणले चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा २– ३ दिन भित्र निरन्तर विद्युत आपूर्ति हुने जनाएको छ ।





प्रतिक्रिया