विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई


ललितपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्ने बताएकी छन् ।

काठमाण्डु विश्वविद्यालय स्कूल अफ एजुकेसनद्वारा शनिबार ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्ने बताइन् ।

‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर संवाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौं,’ मन्त्री भट्टराईले भने ।

उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्ने जनाउँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी रहेको बताइन् । उनले युवाहरूको चाहनामा देशको विकास गर्ने गरी उनीहरूकै चाहनामा ज्ञानसीपयुक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्नेमा जोड दिइन् ।

‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौं, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ,’ उनले भनिन् । प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउँदै मन्त्री भट्टराईले २ दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गरिन् ।

काठमाण्डु विश्वविद्यालयका उपकूलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको काम शिक्षा र सेवा दिने मात्रै होइन, अनुसन्धान गर्ने पनि हो भन्ने धारणा राखे ।

‘नौलो र नवीन काम गर्न डराउनु हुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्च शिक्षा पनि राम्रो हुनुपर्छ, देशको उन्नति र स्रोतसाधनको उपयोगका लागि ध्यान दिनुपर्छ । जिम्मेवारी, रणनीति योगदानको मूल्यांकन गर्दै नेपालको शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्त्वपूर्ण हुनेछ,’ प्रा.डा. थापाले भने ।

माध्यमिक शिक्षकको हैसियतभन्दा प्राविधिक धारका शिक्षा दिने इन्जिनीयरको मान्यता विद्यालय तहमा नहुनुले समस्या रहेको बताउँदै उनले विद्यार्थीले खोजेका चाहना पूरा गरेर ज्ञान पनि भरिदिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।