भदौ २३ र २४ का घटनाका गम्भीर प्रश्न अझै अनुत्तरित : पूर्वराष्ट्रपति भण्डारी

भदौ २३ र २४ का घटनाका गम्भीर प्रश्न अझै अनुत्तरित : पूर्वराष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –२०८२ साल भदौ २३ र २४ गते भएका जेन जी घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानबाट स्थापित गर्नुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।

भदौ २३ र २४ गतेको घटनाको एक वर्ष पुगेको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत भण्डारीले ती घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले उक्त घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन्।

निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको भन्दै उनले परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताइन्।

तर, एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का घटनासँग सम्बन्धित कतिपय गम्भीर प्रश्न अनुत्तरित रहेको उनको भनाइ छ। उनले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिको घटनाका रूपमा हेर्न नहुने भनाइ राखिन्।

‘एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का घटनाका कतिपय गम्भीर प्रश्नहरू अनुत्तरित नै छन्। ती दुई दिनका घटनालाई एउटै प्रकृतिका घटनाका रूपमा मात्र हेर्नु उचित हुँदैन। भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको व्यापक हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशका प्रकृति र परिस्थिति फरक देखिन्छन्,’उनले लेखेकिछन् ।

आन्दोलनमा उठाइएका जायज माग र मूल भावनाभन्दा फरक प्रकृतिका गतिविधि देखिएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्वहरूको संलग्नताको प्रश्नसमेत उठेकाले यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उनले बताएकी छन्।

‘आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा भिन्न प्रकृतिका गतिविधि देखिनुका साथै बाह्य घुसपैठ वा अवाञ्छित तत्वहरूको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको छ। यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ,’ उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको उल्लेख गर्दै भण्डारीले सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका केही विवरण सञ्चारमाध्यममार्फत बाहिर आएको जिकिर गरिन्। यद्यपि, घटनाको समग्र प्रकृति, हिंसा, विध्वंस र त्यसमा संलग्न पक्षहरूको भूमिकाबारे सबै प्रश्न अझै पूर्ण रूपमा निरूपण नभएको उनको भनाइ छ।

‘कुनै पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गरिनुपर्छु’, भण्डारीले लेखेकी छन् ।

उनले न्यायको नाममा राजनीतिक प्रतिशोध लिन नहुने बताउँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु तथा निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म भएको उल्लेख गरेकी छन्। राज्यका निकाय र आन्दोलनमा सहभागी नागरिक सबैका लागि कानुन समान हुनुपर्ने उनको भनाइ छ।

नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई आफूले सकारात्मक रूपमा लिएको स्मरण गर्दै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने बताएकी छन्।
साथै, लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने धारणा राखेकी छन्।

भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नभई राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणमा जोड्न आग्रह गरेकी छन्।

‘अब भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार होइन, राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाऔँ। सत्य र न्यायको पक्षमा उभिँदै नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणको अभियानमा जोडौँ,’ उनले भनिन्।

उनले सशक्त प्रश्नलाई संवादमा बदल्न, असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्न र विभाजनलाई राष्ट्रिय एकताले जित्नुपर्ने बताएकी छन्। यही नै ती दुःखद घटनाका पीडितप्रतिको सच्चा सम्मान र भावी पुस्ताप्रतिको जिम्मेवारी हुने उनको भनाइ छ।