काठमाण्डु – एमालेमा पुनः सक्रिय भएर राजनीति गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देश दौडाहा गर्न लागेकी छन् ।
एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको बेला उनी देश दौडाहमा जान लागेकी हुन् । यसका लागि आगामी साता उनी विराटनगर जाँदै छिन् । त्यसपछि उनी भदौ १४ गते जनकपुर जानेछिन् ।
विराटनगरमा भदौ २ गते उनी उद्घोष दैनिकको कार्यक्रममा प्रमुख अतिथिका रूपमा र जनकपुरमा भदौ १४ गते उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी हुनेछिन् ।
दुवै कार्यक्रमका क्रममा उनले एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग पनि भेटघाट गर्नेछिन् । एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकबाट पार्टी सदस्यता नवीकरण स्थगित गरेपछि पूर्वराष्ट्रपति भण्डारीले पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय हुने जनाउ दिँदै गतिविधि गर्दै आएकी छिन् ।
भदौ २० र २१ गते काठमाण्डुमा हुने एमालेको विधान महधिवेशनमा प्रतिनिधिमार्फत केन्द्रीय कमिटीको निर्णय परिवर्तनका लागि विभिन्न रणनीतिसहित भण्डारीले देश दौडाहा गर्न लागेकी उनीनिकट नेताहरूले बताएका छन् ।
एमालेका तल्ला कमिटीका बैठकहरूमा पनि भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला उनको काठमाण्डुबाहिरको कार्यक्रम तय भएको हो ।
पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारीको प्रदेश भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । कोसी र मधेशमा नेता–कार्यकर्ताहरूसँगको भेटघाटपछि पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय नियमित रूपमा जाने छिन् ।
एमालेको लुम्बिनी, कोशी र बाग्मती प्रदेश कमिटीको हालै भएको बैठकहरूमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन प्रदेश सदस्यहरूले दबाब दिएका थिए । प्रदेश कमिटीका नेताहरूले भण्डारीको सदस्यता सम्बन्धीविवाद टुंग्याउन माग पनि गरेका छन् ।
केन्द्रीय कमिटीको पछिल्लो निर्णयले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र संवादबाट समस्या हल गर्दै पार्टीलाई एकताबद्ध बनाउन नसके मिसन ८४ को लक्ष्य पूरा हुन नसक्ने उनीहरू बैठकमा धारणा राखेका हुन् ।
विधान महाधिवेशनका लागि सुझाव दिन अहिले एमालेका विभिन्न तहका कमिटी बैठकहरू जारी छ ।




प्रतिक्रिया