‘राजनीतिक भ्रमण’मा पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै

‘राजनीतिक भ्रमण’मा पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै

पूर्वराष्ट्रपतिको भ्रमण टोलीमा सरकारका मन्त्री र एमाले नेताहरू पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा शनिबार चीन भ्रमणका लागि प्रस्थान गर्दैछिन् ।

पूर्वराष्ट्रपति भण्डारी १० दिनका लागि चीन जान लागेकी हुन् । उनको भ्रमण नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ । यो भ्रमण सरकार र एमाले दुवैको सहमति र समन्वयमा सम्पन्न हुन लागेको छ ।

भण्डारीको आसन्न भ्रमणको स्वामित्व सरकारले लिएको र प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा उत्तरी छिमेकी देश जान लागेकी हुन् ।

प्रधानमन्त्री ओलीसँग छलफलपछि भ्रमण तय भएको र सोहीअनुसार भ्रमणको स्वामित्व सरकार र एमाले दुवैले लिएको हो ।

प्रधानमन्त्रीकै चाहनाअनुसार भ्रमणको स्वामित्व सरकार र एमालेले लिनेगरी पूर्वराष्ट्रपति भण्डारीसँग जाने ८ सदस्यीय प्रतिनिधिमण्डलको चयन भएको हो ।

भ्रमणको नेतृत्व भण्डारीले लिने भए पनि यसमा सरकार र एमाले दुवैको सक्रिय सहभागिता रहने छ । यसर्थ, भ्रमण टोलीमा सरकारका प्रतिनिधि र एमाले नेताहरू दुवै समेटिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नै गत वर्ष असोजमा हुने भनिएको भण्डारीको चीन भ्रमण रोकेका थिए ।

यस पटकको भ्रमणमा आफू निकट एमाले नेताहरूलाई साथ लिएर जानुले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेत गरेको छ । २ पटक राष्ट्रपति भएकी उनको राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण औपचारिक राजकीय भ्रमण नभई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजना गरिएका २ विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा हुने छ । १० दिने भ्रमणमा उनी बेइजिङ, गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु पुग्ने छन् ।

उनी शनिबार राति काठमाडौंबाट ग्वान्जाओ हुँदै आइतबार बेइजिङ पुग्ने छन् । आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चिनियाँ परराष्ट्र मन्त्रालयले स्वागत समारोह तथा रात्रिभोजको आयोजना गर्ने छन्, जसमा छिमेकी देशका नेताहरू पनि सहभागी हुने छन् ।

यस्तै, भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओबीच सोमबार भेटवार्ता हुने कार्यक्रम छ । यद्यपि, चिनियाँ शीर्ष नेतृत्वसँगको भेटबारे औपचारिक जानकारी भने आएको छैन ।

भण्डारीले राष्ट्रपतिको हैसियतमा २०७६ वैशाखमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण गरेकी थिइन् । त्यस्तै, उनी राष्ट्रपति भएका बेला चिनियाँ राष्ट्रपति चिनफिङले २०७६ असोजमा नेपालको भ्रमण गरेका थिए ।

भण्डारी सोमबार छिमेकी मुलुकहरूका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको संवाद शीर्षक दिइएको कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । उनले समारोहलाई सम्बोधन पनि गर्ने कार्यक्रम छ । सोही समारोहमा एमाले नेताद्वय महासेठ र थापाले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्योगमन्त्री भण्डारीले पनि कार्यक्रमको एउटा सत्रलाई सम्बोधन गर्ने छन् ।

यस्तै, मंगलबार भण्डारीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ नेता माओत्सेतुङको समाधि हलको र फरबिडन सिटीको भ्रमण गर्ने कार्यक्रम छ । त्यही दिन उद्योगमन्त्री भण्डारीले चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)का नेतासँग भेटवार्ता गर्ने छन् ।

मदन भण्डारी फाउन्डेसनका अधिकारी र भण्डारीले चाइना पिस डेभलपमेन्ट फाउन्डेसनमा नेताहरूसँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ ।

बुधबार र बिहीबार भ्रमण दलले गान्सु प्रान्तको डुनहुवाङ शहरका विभिन्न विकास मोडलको अवलोकन गर्ने कार्यक्रम छ । बिहीबार नै उनीहरू चिनियाँ वरिष्ठ नेताद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । वरिष्ठ नेताको नाम कार्यतालिकामा उल्लेख छैन । तर, उनी उपराष्ट्रपति हान झेङ हुने एमाले विदेश विभागको अपेक्षा छ ।

यसैगरी, शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले चीन सरकारद्वारा गान्सु प्रान्तको डुनहुवाङ शहरमा आयोजित सभ्यताहरू आदान–प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी कार्यक्रमकी मुख्य अतिथि रहने छिन् । कार्यक्रममा लाओसका राष्ट्रियसभाका उपाध्यक्षसहित विभिन्न देशबाट राजनीतिक नेताहरू सहभागी हुने कार्यक्रम छ । पूर्वराष्ट्रपति भण्डारीको गान्सु प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा सरकारी उच्च अधिकारीसँग पनि भेटवार्ताको कार्यक्रम छ ।

शनिबार उच्च गतिको रेलमा गान्सु प्रान्तकै जियायुगुआन भ्रमण जाने र आइतबार जियायुगुआनबाट प्रतिनिधिमण्डल सिचुआन प्रान्तको छेन्दु पुग्ने र सोमबार स्वदेश फर्किने कार्यक्रम छ । छेन्दुमा पूर्वराष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताले स्वागत गर्ने कार्यक्रम छ ।

को–को जाँदैछन् ?

भ्रमण टोलीमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारी, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र बिष्ट सहभागी छन् । यीमध्ये भण्डारी, अधिकारी र बिष्ट मदन भण्डारी फाउन्डेसनसँग आबद्ध छन् ।

चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि बेइजिङमा टोलीमा सहभागी हुने छन् । उनी केही दिनअघि सगरमाथा संवादका लागि काठमाडौं आएर मंगलबार चीन फर्किएका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध, नेपालमा कम्युनिस्ट पार्टीहरूबीचको सम्बन्ध र एकता तथा सहकार्यको सम्भावना, चिनियाँ कम्युनिस्ट पार्टी र एमालेको सम्बन्ध तथा सहकार्यलगायत विषयमा छलफल हुन सक्ने भण्डारी निकटहरू बताउँछन् । पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले देशभित्र पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सक्रियता बढाएकी छन् । कतिपयले उनी सक्रिय राजनीतिमा फर्कने अनुमान गरेका छन् ।

भण्डारीको यस भ्रमणले एमाले राजनीतिमा उनको सक्रियता र प्रभाव बढ्ने तथा त्यसले नेपालका कम्युनिस्टहरूबीचको एकता तथा सहकार्यको वातावरण बनाउने कतिपयले अनुमान पनि गरेका छन् ।