काठमाण्डु – भारतको बिहार राज्यमा बिहीबारदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ ।
कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहीबार मतदान भएको हो । पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव जस्ता ठूला नामहरू सामेल छन् ।
यस्तै तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार पनि मैदानमा छन् ।
करिब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ । पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणना नोभेम्बर १४ मा हुनेछ ।
जातिवाद र परिवारवादको राजनीति
बिहारमा जुन सुकै पार्टीका उम्मेदवार हेरे स्पष्ट देखिन्छ— जातिवाद, परिवारवाद र दागी उम्मेदवारहरूप्रतिको मोह कुनै पनि दलमा घटेको छैन ।
लालु प्रसाद यादवका छोरा तेजस्वी यादवले मुजफ्फरपुरमा चुनाव प्रचारका क्रममा भनेझैं बिहारमा सबै दलका उम्मेदवार मतदाताको मन जित्ने दौडमा छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै दलका ठूला नेताहरूको दौडधुप जारी छ । कोही आफ्ना कोर मतदाता सुदृढ गर्न खोज्दै छन् भने कोही अरूको भोट बैंकमा चोरी गर्ने प्रयत्नमा छन् ।
यद्यपि सबै दलहरूको उम्मेदवारहरूको सूची हेर्दा देखिन्छ कि जातिवाद, परिवारवाद र दागी उम्मेदवारप्रतिको आकर्षण घट्नुको साटो बढ्दो छ ।
जसले जिते पनि, जाति एउटै
सबै दलले उम्मेदवार चयनमा जातीय समीकरणको विशेष ध्यान दिएका छन् । एनडीए र महागठबन्धन दुवैले धेरै क्षेत्रमा एउटै जातिका उम्मेदवार उतारेका छन् ।
करिब ३६ भन्दा बढी क्षेत्रहरूमा यस्तो स्थिति छ । जसले जिते पनि विजेता एउटै जातिको हुनेछ । यीमध्ये सबैभन्दा बढी यादव उम्मेदवार छन् ।
दुवै गठबन्धनले ५ सीटमा ब्राह्मण, ६ मा राजपूत, ८ मा भूमिहार र ७ मा कुर्मी–कुशवाहा उम्मेदवार उतारेका छन् ।
आरजेडीले आफ्नो परम्परागत एम–वाई समीकरण (मुस्लिम–यादव) ध्यानमा राख्दै यादव र मुस्लिम उम्मेदवार बढी उतारेको छ । १४३ सीटमध्ये ५१ यादव, १९ मुस्लिम, ११ कुशवाहा र १४ सामान्य श्रेणीका उम्मेदवार छन् ।
त्यस्तै जेडीयूले १०१ सीटमध्ये ३७ ओबीसी, २२ ईबीसी, २२ सामान्य र ४ मुस्लिम उम्मेदवार चयन गरेको छ । महिलाहरूको सन्दर्भमा सबै दलहरूले विभिन्न जातिबाट १३ महिला उम्मेदवार उतारेका छन् ।
बीजेपीले सबैभन्दा धेरै सीट सामान्य वर्गका उम्मेदवारलाई दिएको छ । जसमा १६ भूमिहार, २१ राजपूत, ११ ब्राह्मण र १ कायस्थ छन् । त्यस्तै, ओबीसीबाट २४ र ईबीसीबाट १६ उम्मेदवार छन् ।
कांग्रेस र वामदलहरूले पनि टिकट वितरणमा जातीय र सामाजिक सन्तुलन मिलाउने प्रयास गरेका छन् । महागठबन्धन र एनडीए दुवैका २३–२३ कुशवाहा उम्मेदवार छन् ।
कुर्मी उम्मेदवारलाई जोड्दा यो संख्या ५०–५५ पुग्छ, जसमा करिब ३० सीटमा कुशवाहा उम्मेदवारको जीत सम्भावित छ ।
‘जातिप्रधान राजनीति केवल बिहारमा मात्र होइन, दक्षिण भारतका राज्यहरूमा पनि छ । तर यहाँ यसको पकड अझ गहिरो छ’, राजनीतिक विश्लेषक आरके शुक्ला भन्छन् ।
यसपटक भूमिहार समुदायमाथि दुवै गठबन्धनको विशेष भरोसा देखिएको छ । एनडीएले ३२ र महागठबन्धनले १५ भूमिहार उम्मेदवार उभ्याएका छन् ।
फलस्वरूप धेरै क्षेत्रमा भूमिहारविरुद्ध भूमिहार प्रतिस्पर्धा देखिन्छ । सबैभन्दा चर्चित पटना जिल्लाको मोकामा क्षेत्र हो जहाँ बाहुबली अनन्त सिंह र बाहुबली सूरजभान सिंहकी पत्नी आमनेसामने छन् ।
लखीसरायमा उपमुख्यमन्त्री विजय कुमार सिन्हा (बीजेपी) र कांग्रेसी उम्मेदवार अमरेश अनीशबीच पनि भूमिहार–भूमिहार प्रतिस्पर्धा छ ।
२०३ जाति, सबैभन्दा बढी अति पिछडाहरू
बिहार सरकारले २०२३ मा सार्वजनिक गरेको जातीय सर्वेक्षण अनुसार राज्यमा २०३ सूचीबद्ध जातिहरू छन् ।
हिन्दूमा ब्राह्मण, राजपूत, कायस्थ र भूमिहार सूचीकृत भन् भने मुस्लिममा शेख, पठान र सैयदलाई सामान्य वर्गमा राखिएको छ । यस्तै अति पिछडा ११२, पिछडा ३०, अनुसूचित जाति २२ र जनजाति ३२ छन् ।
शुक्ला भन्छन्, ‘दलहरूले जाति हेरेर उम्मेदवार चयन गर्छन्, र मतदाताले पनि जाति हेरेर भोट हाल्छन् ।’
परिवारवादमा पनि सबै समान
बिहार चुनावमा परिवारवाद पनि बलियो देखिन्छ । करिब ४० भन्दा बढी उम्मेदवारहरू यस्ता छन्, जसका आफन्त सांसद वा विधायक भइसकेका छन् ।
एनडीए र महागठबन्धन दुवै यसमा उस्तै छन् । एनडीए घटक दल हिन्दुस्तानी अवाम मोर्चाका संरक्षक केन्द्रीय मन्त्री जीतनराम माझीका परिवारका तीन सदस्य उम्मेदवार छन् । उनकी बुहारी दीपा कुमारी, समधिनी ज्योति देवी र ज्वाइँ प्रफुल्ल मांझी उम्मेदवार बनेका हुन् ।
त्यस्तै, आरएलएम प्रमुख उपेन्द्र कुशवाहाले आफ्नी पत्नी स्नेहलता कुशवाहालाई टिकट दिएका छन् । बीजेपीमा कम्तीमा ११ र जेडीयूमा ८ उम्मेदवार राजनीतिक घरानाबाट आएका छन् ।
आरजेडीका तेजप्रताप र तेजस्वी यादव त स्वाभाविक रूपमा नै छन् । आरजेडीले पूर्व सांसद र बाहुबली मो. शहाबुद्दीनका छोरा ओसामा शहाबलाई उम्मेदवार बनाएको छ ।
जनसुराज पार्टी पनि परिवारवादबाट बच्न सकेको छैन । पूर्वकेन्द्रीय मन्त्री आरसीपी सिंहकी छोरी लता सिंह र कर्पूरी ठाकुरकी नातिनी जागृति ठाकुर पनि प्रतिस्पर्धामा छन् ।
एडीआर रिपोर्टअनुसार बिहार विधानसभाका ६६ र परिषद्का १६ सदस्य परिवारवादी पृष्ठभूमिबाट आएका छन् ।
जनतालाई सफा छविका नेताहरू दिने वाचा सबै दलहरूले गर्छन् । तर जितको लोभमा दागी उम्मेदवारप्रतिको मोह कायम नै छ ।
एडीआरको रिपोर्टअनुसार पहिलो चरणका १,३१४ उम्मेदवारमध्ये ४२३ जनाले आफ्ना विरुद्ध आपराधिक मुद्दा रहेको स्वीकार गरेका छन् । जसमा ३५४ जनामा गम्भीर मुद्दा छन् ।
३३ हत्या, ८६ हत्या प्रयास, ४२ महिला हिंसा, र २ बलात्कारका मुद्दा सामेल छन् ।
राजनीतिक विश्लेषक समीर सौरभ भनछन्, ‘जाति, परिवारवाद र दागी उम्मेदवार अहिले भारतीय राजनीतिका पर्याय बन्दै गएका छन् । सबै अपराधी होइनन्, कतिपय षड्यन्त्रका कारण पनि परेका छन् । तर यिनको ‘स्वीकार्यता’ अझै कायम छ ।’




प्रतिक्रिया