काठमाण्डु – भारतको बिहार विधानसभाका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
कुल २४३ सिटका लागि दुई चरणमा भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले दुई तिहाई मत प्राप्त गरेको छ ।
एनडीए गठबन्धनले २०२ सिट जितेको छ । गठबन्धनमा रहेको भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जितेको छ ।
यस्तै कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) मात्र ३४ सिटमा सिमित भएको छ ।
यसैगरी लोक जनशक्ति पार्टी (रामविलास)ले १९, हिन्दुस्तानी अवाम मोर्चाले ५, राष्ट्रिय लोक मोर्चाले ४ र अन्य सहयोगीहरूले बाँकी सिटहरू जितेका छन्।
बिहार विधानसभा निर्वाचनका लागि नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताएका छन् । उनले यो जीतलाई सुशासनको जीत भएको पनि बताएका छन् ।
यो नतिजाले बिहारको राजनीतिमा नीतीशकुमारको केन्द्रीय भूमिका कायम राखेको छ। विगत दुई दशकदेखि सत्तामा रहँदै उनले अपराध, भ्रष्टाचार र बेरोजगारीविरुद्ध लडेर सुशासन बाबुको उपाधि कमाएका छन्।
एनडीएको यो जितले राज्यको विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। एनडीएको जित पछि नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने चर्चा छ ।




प्रतिक्रिया