बालुवाटार जग्गा प्रकरणः गच्छदार एक वर्षदेखि फरार, घरमा म्याद तामेली टाँसियो

बालुवाटार जग्गा प्रकरणः गच्छदार एक वर्षदेखि फरार, घरमा म्याद तामेली टाँसियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको घरमा म्याद तामेली टाँस गरेको छ । उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका छन् ।

विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

‘मान्छे फेला नपरेको’ भनेर गच्छदारको घरमा म्याद तामेली टाँस गरेको प्रवक्ता पाण्डेयले काठमाण्डुपाटीलाई जानकारी दिए ।  अदालतले फागुन २३ गते गच्छदारको घरमा म्याद तामेली टाँस गरेको हो ।

तेस्रो पटक ताकेता गर्दा पनि गच्छदार अदालतलेमा उपस्थित भएका छैनन् । उनलाई बाटोको म्याद बाहेक १५ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।  गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।