बालुवाटार जग्गा प्रकरणः कारबाहीबाट जोगिन अदालतबाट भाग्दै विजय गच्छदार

बालुवाटार जग्गा प्रकरणः कारबाहीबाट जोगिन अदालतबाट भाग्दै विजय गच्छदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विशेष अदालतले दिएको म्याद तामेली गुजार्दै आएका छन् ।

उनले अदालतमा उपस्थित हुन दिएको आदेश पटक–पटक उल्लंघन गर्दै आइरहेका छन् । गच्छदारले चैत २४ गते अदालतले दिएको आदेश पनि उल्लंघन गरेका छन् ।

यसअघि गत फागुन २३ गते अदालतले गच्छदारको घरमा १५ दिने म्याद तामेली टाँस गरेको थियो । उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका छन् ।

विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदारले पटकपटक उदालतले दिएको आदेश उल्लंघन गर्दै आएको काठमाण्डुपाटीलाई बताए । उनले चैत २४ गते अदालतले उपस्थित हुन आदेश दिए पनि नआएको जानकारी दिए ।

‘पक्षहरुले मुद्दामा छिटो आइदिए हुन्थ्यो । हामीले म्याद जारी गरिसक्यौं । कानूनी प्रक्रिया अगाडि बढ्छ । अदालतले साक्षी बकपत्र गरेर अन्त्यमा फैसला गर्छ’, उनले भने ।

गच्छदारविरुद्ध किन पक्राउ पूर्जी जारी नगरेको त ? भन्ने प्रश्नमा प्रवक्ता पाण्डेयले अदालतको बेञ्चले गर्ने निर्णय भएकाले आफूले बोल्न नमिल्ने बताए ।

गच्छदार कहाँ छन् अदालत र प्रहरी प्रशासन बेखबर छन् । प्रहरीले अदालतबाट पक्राउ गर्न आदेश नदिएको बताउँदै आइरहेको छ । केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवर अदालतले अनुमति नदिएको विषयमा प्रहरीले आवश्यक कदम चाल्न नसक्ने बताउँछन् ।

अदालतले म्याद तामेल गरेपछि गच्छदार पार्टीका कुनैपनि कार्यक्रमहरुमा देखिएका छैनन् । अदालती प्रक्रिया पूरा गर्न गच्छदारले आनाकानी गरिरहेको विषयमा उनकै पार्टीका नेता पनि सन्तुष्ट छैनन् ।

‘उहाँ किन भागिरहनुभएको छ । त्यो मैले बुझ्न सकेको छैन् । गच्छदारजी पार्टीका कुनैपनि कार्यक्रममा देखिनुभएको छैन् । गल्ती नगरेको भए उहाँले अदालतमा बयान दिए भइहाल्यो नि’, एक काँग्रेस नेताले भने ।

चौथो पटक ताकेता गर्दा पनि गच्छदार अदालतमा उपस्थित भएका छैनन् । गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।