काठमाण्डु – विशेष अदालतको फरार सूचीमा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार नयाँ सरकार गठनमा सक्रिय भएका छन् । अदालतले काठमाण्डुस्थित घरमा म्याद तामेल गर्न आदेश दिएकै दिन गत शुक्रबार गच्छदार तीन दलको बैठकमा सहभागी भएका थिए ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा सहभागी भएका थिए । गच्छदारलाई कांग्रेसका शीर्ष नेताहरुले संरक्षण गरिरहेको पाइएको छ ।
अदालतले बयानका लागि बोलाउँदा पनि भाग्दै हिँड्ने व्यक्ति नै नयाँ सरकार गठन प्रक्रियामा सक्रिय हुनु आश्चर्यको विषय भएको उच्च अदालतका एक कर्मचारीले बताए ।
अदालत स्रोतकाअनुसार काठमाण्डुको घरमा म्याद तामेल गर्ने र अदालतले दिएको मिति गुजारेको खण्डमा आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ ।
‘उहाँले पटक–पटक अदालतले दिएको आदेश उल्लंघन गर्दै आउनु भएको छ । अब यो अन्तिम मौका हो । त्यसपछि कारबाही प्रक्रिया अघि बढ्छ’, उच्च अदालतका एक कर्मचारीले भने ।
शुक्रबार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले गच्छदारको काठमाण्डुस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको थियो ।
मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, यस अवधिमा पनि उनी अदालत पुगेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।




प्रतिक्रिया