काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । उनले अदालतले उपस्थित हुन दिएको आदेश पटक–पटक उल्लंघन गर्दै आइरहेका थिए ।
गच्छदार बुधबार बिहान विशेष अदालतमा उपस्थित भएको अदालत स्रोतले जानकारी दियो । उनको बयान लिने तयारी भएको छ । बयान लिएपछि अदालतले गच्छदारको मुद्दा प्रक्रिया अगाडि बढाउनेछ ।
नेपाली कांग्रेस नेतृत्व सरकार आएसँगै उनी सार्वजनिक भएका हुन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै गच्छदार अदालत उपस्थित भएका हुन् ।
अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो । उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए ।
विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।




प्रतिक्रिया