काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको थुनछेक बहस सकिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका गच्छदारको थुनछेक बहस सकिएको हो ।
अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस सकिएको छ ।
गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए । उनलाई थुनामा पठाउने वा धेरौटीमा छाड्ने केहीबेरमा अदालतले फैसला गर्दैछ ।
विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।




प्रतिक्रिया