काठमाण्डु – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अख्तियारले आफ्नो राजनीति ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले आधा शताब्दी लामो राजनीतिक करियर ध्वस्त पार्न अख्तियारले गैरकानुनीरुपमा मुद्दा चलाएको उनको आरोप छ ।
‘अख्तियारले गैरकानुनी रुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो,’ उनले भने, ‘म विगत डेढ वर्षसम्म एक दिनपछि सार्वजनिक काम र मिडियामा आइनँ । अदालतले धरौटीमा रिहा गरेर न्याय दिएपछि मात्रै सावर्जजनिक भएँ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि राजनीतिक दबाबमा चल्दा आयोगले आफ्नो छवी समेत धुमिल बनाएको उनको भनाइ छ ।
‘मेरो ५० वर्ष लामो राजनीतिक जीवनमा धक्का लगाउने षड्यन्त्र स्वरुप मविरुद्ध आरोपत्र तयार गरियो,’ नेता गच्छदारले भने, ‘सरकारको छायाका रूपमा काम नगरेको अवस्थामा आयोगले निष्पक्ष अनुसन्धान गर्नेमा दुई मत छैन । तर, मविरुद्धको आरोपपत्रमा उल्लेख विषय अध्ययन गर्दा षड्यन्त्र मात्रै हो भन्ने पुष्टि हुनेछ ।’




प्रतिक्रिया