काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार राजनीतिक क्रियाकलापमा सक्रिय छन् । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको फरार सूचीमा रहेका गच्छदारले शक्तिको आडमा अदालतको म्याद तामेली गुजार्दै आएका छन् ।
यसअघि विशेष अदालतले पटक–पटक गच्छदारको सुनसरीस्थित घरमा म्याद तामेली टाँस गरेको थियो । तर, गच्छदार सुनसरीस्थित घरमा फेला नपरेपछि अदालत नयाँ ठेगानाको खोजीमा जुटेको छ ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदारको काठमाण्डुको ठेगाना पत्ता लगाउने जिम्मा अख्तियारलाई दिइएको बताए ।
‘उहाँ सुनसरीमा नबस्ने भएकाले नयाँ ठेगाना पत्ता लगाउन । उहाँको अभियोगपत्रमा भएको बाहेक अन्य ठेगाना पत्ता छ कि छैन् भनेर अख्तियारबाट मगाएर छ भने त्यसैअनुसार म्याद जारी गर्नु भन्ने आदेश आएकाले हामीले अख्तियारलाई पत्र लेखेका छौं । अख्तियारले जवाफ दिएको छैन्,’ उनले भने ।
प्रवक्ता पाण्डेयले डेढ महिना अगाडि अख्तियारलाई नयाँ ठेगाना पत्ता लगाउन जिम्मा दिएको भएपनि हालसम्म कुनै जवाफ नपठाएको बताए ।
‘हामीले अख्तियारलाई यथाशिघ्र छिटो समय ल्याउ भनेका छौं । डेढ महिना भयो हामीले ठेगाना पत्ता लगाउन भनेर पत्र पठाएको लकडाउन भएकाले ढिलो भएको छ,’ उनले भने ।
अदालतले सुनसरीस्थित निवासमा म्याद तामेली गरिरहँदा गच्छदार भने काठमाण्डुमा राजनीतिक दौडधुपमा व्यस्त थिए । अदालतले गत चैत अन्तिम साता गच्छदारको सुनसरीस्थित घरमा म्याद तामेली गरिरहँदा उनी काठमाण्डुमा राजनीतिक दौडधुपमा व्यस्त थिए ।
गच्छदार माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन प्रक्रियामा सक्रिय थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका गच्छदार पार्टीका नियमित बैठक र विपक्षी दलसँगका बैठकमा सहभागी हुँदै आइरहेका छन् । तर, विशेष अदालतमा उपस्थित हुन पाएको म्याद भने गच्छदारले गुजार्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको काठमाण्डुको नयाँ ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । प्रवक्ता नारायणप्रसाद रिसालले उनको काठमाण्डुस्थित घरको ठेगाना पत्ता लगाउने प्रयास जारी रहेको जानकारी दिए ।
गत चैतमा विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले गच्छदारको घरमा अन्तिम पटक म्याद तामेल गर्न आदेश दिएको थियो ।
मुद्दा दायर भएको २ वर्ष पुग्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, उनी अदालत पुगेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।




प्रतिक्रिया